समाजस्थानीय सरकार

स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा : ऐरावती प्रथम, सरुमारानी दोस्रो र माण्डवी तेस्रो

प्यूठान । आर्थिक वर्ष २०८२/८३ मा प्यूठान जिल्लामा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा सम्पन्न भएको छ। समीक्षामा प्रस्तुत प्रगति प्रतिवेदनका आधारमा जिल्लाका स्थानीय तहमध्ये ऐरावती गाउँपालिका प्रथम, सरुमारानी गाउँपालिका दोस्रो र माण्डवी गाउँपालिका तेस्रो भएका छन् ।

समीक्षा समापन कार्यक्रममा उत्कृष्ट पालिकाका स्वास्थ्य शाखा प्रमुखहरूलाई सम्मान गरिएको हो । उत्कृष्ट घोषित ऐरावती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बालगोपाल श्रेष्ठ, सरुमारानी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझी र माण्डवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुवकुमार पोख्रेललाई सम्मानपत्र सहित सम्मान गरिएको छ ।

जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरमबहादुर जिसी, स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख नरेशबाबु श्रेष्ठ र लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशासक नेत्र अर्यालले उत्कृष्ट पालिकाका स्वास्थ्य शाखा प्रमुखहरूलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

दुई दिनसम्म सञ्चालन भएको वार्षिक समीक्षा कार्यक्रममा जिल्लाका नौवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, राष्ट्रिय स्वास्थ्य बीमा बोर्ड प्यूठान तथा स्वास्थ्य क्षेत्रमा क्रियाशील गैरसरकारी संघसंस्थाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका कार्यक्रम तथा गतिविधिको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । समीक्षा कार्यक्रममा स्वास्थ्य सेवाको अवस्था, कार्यक्रमको प्रगति, उपलब्धि, चुनौती तथा आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरमबहादुर जिसीले स्थानीय तहमा निर्माण भएका अस्पताल भवनबाट प्रभावकारी रूपमा स्वास्थ्य सेवा सञ्चालन गर्न संघीय तथा प्रदेश सरकारबाट आवश्यक सहयोग हुनुपर्ने बताउनुभयो । भौतिक संरचना निर्माणसँगै आवश्यक जनशक्ति, उपकरण तथा अन्य स्रोतसाधनको व्यवस्थापनमा तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईँले स्वास्थ्य सम्बन्धी तथ्यांकमा देखिएका बिरामीलाई उपचारको पहुँचमा ल्याउनुपर्नेमा जोड दिनुभयो । तथ्यांकमा बिरामीको संख्या देखिए पनि उनीहरू उपचारको पहुँचमा किन आउन सकेनन् भन्ने विषयको कारण पहिचान गरी समस्या समाधान गर्नुपर्ने उहाँले बताउनुभयो ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशासक नेत्र अर्यालले प्यूठानमा मातृ तथा शिशु मृत्युदर, मानसिक स्वास्थ्य र बालविवाहका कारण कम उमेरमै आमा बन्नुपर्ने अवस्था जस्ता स्वास्थ्य सम्बन्धी चुनौती रहेको बताउनुभयो । यस्ता समस्याको समाधानका लागि स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सबै सरोकारवाला बीच सहकार्य र समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो ।

प्रदेश सरकारले जिल्लामा दीर्घरोगीको पहिचान गर्ने अभियान सञ्चालन गरिरहेको उल्लेख गर्दै अर्यालले पहिचान भएका बिरामीलाई उपचारको दायरामा ल्याउने गरी आगामी कार्यक्रम केन्द्रित गर्न सुझाव दिनुभयो । रोग पहिचान मात्रै नभई नियमित उपचार र फलोअपको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो ।

स्वास्थ्य संस्थामा औषधिको अभाव हुन नदिन स्थानीय तहले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीले जिल्ला अस्पतालप्रति नागरिकको विश्वास र भरोसा अझ बढाउने गरी सेवा प्रवाहमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य र पोषण कार्यक्रम (EpiC)को सहयोग र स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा वार्षिक समीक्षा कार्यक्रम गरिएको थियो।

Related Articles

Back to top button