- श्रीराम भण्डारी
प्यूठान । प्यूठान र रोल्पा जिल्लाको सिमानामा अवस्थित कुखुरेगौडालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीयवासीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । लिस्ने लेकसँग जोडिएको कुखुरेगौडा प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएकाले यसको संरक्षण, प्रवर्द्धन र विकासमा जोड दिनुपर्ने स्थानीयको माग छ ।
प्यूठान नगरपालिका, नौबहिनी गाउँपालिका र रोल्पा जिल्लाको सिमानासँग जोडिएको यस क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्न सके आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने स्थानीयको विश्वास छ । प्राकृतिक तथा भौगोलिक विशेषताले भरिपूर्ण यस स्थानलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न आवश्यक पूर्वाधार निर्माण र प्रचारप्रसारमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ ।
यसैबीच नौबहिनी गाउँपालिका–८ गातिनाका स्थानीय भरत भण्डारीको सक्रियतामा शुक्रबार कुखुरेगौडामा राष्ट्रिय झण्डा राखिएको छ । उक्त स्थानलाई थप आकर्षक बनाउनुका साथै राष्ट्रिय भावनाको जागरण गर्ने उद्देश्यले झण्डा राखिएको भण्डारीले बताउनुभयो ।












