प्यूठान । निजी (डबल क्याप) पिकअप तथा सार्वजनिक सवारी साधनहरूमा कानुन विपरीत जडान गरिएका छत हटाइएको छ । मंगलबार जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठान र इलाका प्रहरी कार्यालय विजुवारले संयुक्त रुपमा गरेको चेकजाँचका क्रममा १७ वटा सवारीको छत हटाइएको हो ।
अनावश्यक रूपमा जडान गरिएका फग लाइट, झल्लर, स्टीकर, मापदण्ड विपरीत फ्रन्ट गार्ड र ब्याक गार्ड तथा अन्य कानुन विपरीतका सामग्री समेत निकालिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय प्यूठानका प्रमुख प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपानेले जानकारी दिनुभयो । एकपटक कारबाहीमा परेका सवारी साधनले पुनः कानुन विपरीतका कार्य दोहोर्याएमा त्यस्ता सवारी साधन नियन्त्रणमा लिई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम उच्चतम् कारबाही गरिने उहाँको भनाई छ ।
सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात व्यवस्थापनका लागि प्रहरीले “सुन्दर प्यूठान–सडक सुरक्षा अभियान” शुरु गरेको छ । अभियान अन्तर्गत मंगलबार प्यूठान नगरपालिका–८ दम्तीस्थित बाग्दुला–बाहाने सडक खण्डमा विशेष ट्राफिक चेकजाँच तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो ।
चेकजाँचका क्रममा ट्राफिक नियम उल्लंघन गर्ने ३९ वटा पिकअप तथा भ्यान सवारी साधनलाई कारबाही गरिएको छ । सवारी साधनका चालकहरूले छतमा यात्रु राखी यात्रा गराउने कार्यले दुर्घटनाको उच्च जोखिम बढाउने भएकाले यस्ता कार्य नियन्त्रण गर्न कडाइ गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
चालकहरूलाई ट्राफिक नियमको पालना गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न, तीव्र गति नियन्त्रण गर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन तथा सुरक्षित यात्रामा सहयोग पुर्याउन प्रहरीले आग्रह गरेको छ ।
अभियानलाई जिल्लाका विभिन्न स्थानमा निरन्तर सञ्चालन गर्ने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।




