प्यूठान । जिल्ला पहिलो पटक सेवानिबृत्त सैनिकहरुको सम्मेलन गरिएको छ । नेपाली सेनाले मध्यपश्चिम पृतना हेटक्वाटर अन्तरगत उप-सम्मेलन केन्द्र तोकेपछि जिल्लामा सम्मेलन गरिएको हो ।
`भूतपूर्व सैनिक सम्मेलनको पुनर्मिलन हिताधिकारीको कल्याण र कोषको दिगोपन´ भन्ने उद्देश्यका साथ सम्मेलन गरिएको बर्द बहादुर गण प्यूठानले जनाएको छ । नेपाली सेनामा आफ्नो अमुल्य समय व्यतित गरेका सैनिकहरु र उनका परिवारहरुको सहभागितामा सम्मेलन गरिएको गणपति प्रमुख सेनानी महेशबाबु कार्कीले बताउनुभयो ।
सम्मेलनलाई सम्बोधन गर्दै गणपति कार्कीले हिमालको चिसोदेखि तराईको रापसम्म र शान्ति स्थापनामा विभिन्न अन्तर्राष्ट्रिय मिसनहरूमा समेत नेपाली सेनाको शिरलाई उच्च बनाउन भुतपुर्वहरुको योगदान रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, `यहाँहरूले देखाउनुभएको अदम्य साहस र पराक्रमले नै आज हाम्रो सङ्गठन विश्वभर एक व्यावसायिक र अनुशासित सेनाको रूपमा परिचित रहेको छ ।´
जिल्लामा ३४८ जना भुतपुर्व सैनिक रहेको नेपाली सेनाले जनाएको छ । सम्मेलनमा बर्द बहादुर गणका सैनिकहरुले विभिन्न कला कौसलका साथै सांस्कृतिक प्रस्तुती राखेका थिए ।
सम्मेलनको अवसरमा अशक्त भुतपुर्व सैनिक र उनका परिवारका सदस्यलाई सहायक सामाग्री बितरण गरिएको छ । बैशाखी, ह्विल चियर तथा बैशाखी वितरण गरिको हो । पूर्ण बहादुर गमाल मगरलाई वाकर, प्रेममान घर्ति मगर, तुल बहादुर पुन मगर र चित्र बहादुर श्रेष्ठलाई वैशाखी, दामोदर पाण्डे र अम्मर बहादुर नगरकोटीलाई ह्वील चियर र रण बहादुर रोक्का मगरलाई एल्वो प्रदान गरिएको हो ।










