> राष्ट्रिय > चार वर्षमा पुलको खुट्टा मात्र, डिजाइन समस्याले पुल अलपत्र


चार वर्षमा पुलको खुट्टा मात्र, डिजाइन समस्याले पुल अलपत्र

प्यूठान । समयमै काम सम्पन्न भएको भए अहिले सारीका गाउँगाउँमा गाडी पुग्थे । मोटरबाटो भएर पनि पैदल हिड्नुपर्ने अवस्था आउँदैन थ्यो । यातायातले यस क्षेत्रका सर्वसाधारणको दैनिकी सहज बनाउथ्यो ।

 

स्थानीय तहको निर्वाचन अघि नै रोल्पाको खुङ्ग्री र प्यूठानको सारी जोड्ने गरि माडीखोलामा पुल निर्माण कार्य थालिएको हो । सडक विभाग र नागार्जुन कन्ट्रक्सन कम्पनी प्रा.लि.बीच २०७४ असार २९ मा ठेक्का सम्झौता भएको थियो ।

 

तर अहिले चार वर्ष वितेपनि पुल निर्माण सम्पन्न हुन सकेको छैन । “खोलाको वारीपारी दुईटा पुलको खुट्टा मात्र बने,” वडा अध्यक्ष हिरामणी भण्डारीले भन्नुभयो, “पुल निर्माण मात्र अधुरो भएन वडावासीको गाडी चढ्ने रहर पनि अधुरो भयो ।” धेरै पटक यो पुल निर्माणका लागि पहल गर्दै आएपनि काम अघि बढ्न नसकेको उहाँको भनाई छ ।

 

पुल निर्माण गर्ने क्रममा नदीको बीच भागमा रक(चट्टान) भेटिएको भन्दै निर्माण कम्पनीले काम अघि नबढाएको उहाँले बताउनुभयो । एक सय मिटर लामो पुलको बीचमा चट्टान भेटिएको भन्दै निर्माण कम्पनीले पाइल फाउण्डेशनको सट्टा ओपेन फाउण्डेशन गर्नुपर्ने भनि २०७६ फागुन ११ गते सडक डिभिजन प्यूठानमा निवेदन दिएको थियो । कम्पनीले माटो परिक्षणको रिर्पोट सहित निवेदन दिएको थियो ।

 

पुनः सडक विभागले माटो परिक्षण गर्दा चट्टान नभएको भन्दै पुरानै डिजाइनमा पाइल फाउण्डेशन अनुसार काम अघि बढाउन आग्रह गरेको थियो । तर अहिलेसम्म काम अघि नबढेको वडा अध्यक्ष भण्डारी बताउनुहुन्छ । “अहिलेसम्म तीन पटक माटो परीक्षण भैसक्यो” उहाँले भन्नुभयो,“सडकले माटोको दलदल छ भन्छ, ठेकेदारले रक छ भन्छ ।”

 

फोटो क्याप्सन : माडी खोलामा निर्माण भएको पुलको खुट्टा । तस्विर : सुजल श्रेष्ठ

पुलको डिजाईनको समस्याले गर्दा आफूहरुले काम गर्न नसकेको निर्माण व्यवसायी दिपक फुईयालले बताउनुभयो । “अरु ठाउँमा काम गरिरहेकै छौं,” उहाँले भन्नुभयो, “त्यस ठाउँमा रक भएकोले काम हुन सकेको छैन ।” सो विषयमा कार्यालयलाई जानकारी गराइसकेको समेत उहाँले बताउनुभयो ।

सडक डिभिजन कार्यालय प्यूठान खारेज, कार्यालय प्रमुखको सरुवा लगायत कारणले गर्दा समस्याको समाधान हुन नसकेको समेत उहाँले बताउनुभयो । “समस्या छिटो भन्दा छिटो समाधान गर्न लागिपरेका छौं,” उहाँले भन्नुभयो ।

 

डिभिजन सडक कार्यालय प्यूठानका प्रमुख विरेन्द्र कुमार चन्दले पुल निर्माणमा देखिएको समस्या समाधानका लागि कार्यालयले पहल थालेको बताउनुभयो । डिजाईनमा समस्या देखिएकोले त्यसको समाधान कसरी निकाल्ने भन्ने विषयमा विभागसँग समन्वय भइरहेको उहाँले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *