> समाज > प्यूठानमा मतदानको सम्पूर्ण तयारी पूरा, भोलि बिहान ७ बजेदेखि मतदान


प्यूठानमा मतदानको सम्पूर्ण तयारी पूरा, भोलि बिहान ७ बजेदेखि मतदान

रबिन्द्र पाण्डे
प्यूठान । जिल्लामा भोलि बिहिवार हुने प्रतिनिधि सभा सदस्य मतदानको तयारी पूरा भएको छ । बिहान ७ बजेदेखि मतदान शुरु हुनेछ ।

 

मतदान स्थल पुगेका कर्मचारीले मतदानका लागि आवश्यक तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृत हिरण्य प्रसाद भण्डारीले जानकारी दिनुभयो । लाइन ठाउँ, नाम रुजु गर्ने, मतपत्र लिने, छाप लगाउने, मतपेटिका राख्ने ठाउँ मिलाएर मतदान केन्द्रहरु मतदानका लागि तयार गरिएको उहाँले जानकारी दिनुभयो । यसअघि मतदान केन्द्रमा जारी गर्नुपर्ने सूचना र तयारीका लागि सर्बदलिय बैठक पनि सम्पन्न भएका छ्न ।

 

निर्वाचनका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नरहरि अधिकारीले जानकारी दिनुभयो । साझ ५ बजे मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित तवरले सदरमुकाम खलंगा ल्याउने तयारी समेत गरिएको उहाँले बताउनुभयो ।

 

प्रतिनिधि सभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा १५८ मतदान स्थलका २३० मतदान केन्द्र रहेका छ्न । जिल्लामा कुल १ लाख ६५ हजार ४०६ मतदाता रहेका छ्न ।