> समाज > नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा


नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

प्यूठान । नौमुरे जलविद्युत आयोजना सहिलो नभए पनि निर्माण गर्नुपर्ने आवश्यकता रहेको निवर्तमान प्रतिनिधि सभा सदस्य सूर्य थापाले बताउनुभएको छ । लुम्बिनी प्रदेशकै ठूलो आयोजना भएकाले यसको निर्माण अपरिहार्य रहेको उहाँको भनाई छ ।

 

आईतबार सरुमारनी गाउँपालिका वडा नं. ३ का स्थानीयसँगको कुराकानीमा उहाँले देशभरीको विकास बजेटको आधा रकम लाग्ने भएकाले बैदेशिक सहयोगमा सम्पन्न गर्नुपर्ने धारणा राख्नुभयो । ‘आयोजना बनाउन १ खर्ब २६ अर्वको बजेट लाग्छ, जुन देशभरीको विकास बजेटको आधा बजेट हो ।’ ,उहाँले भन्नुभयो, ‘बैदेशिक सहयोग खोजेर सम्पन्न गर्नुपर्ने हुन्छ ।’ नौमुरे बहुउद्देश्यीय आयोजनाको पुर्वाधार निर्माणको काम भैरहेको छ । पहुँच मार्ग निर्माण, जग्गा अधिक्रमण लगायत पुर्वाधार निर्माणको काम भैरहेको हो ।

 

ऐरावतीबाट बड्डाँडा, पुठाखोला हुँदै दाङ जोड्न मोटरबाटो स्तरोन्नती गर्नुपर्ने स्थानीयले माग गरेका छन् । यो सडक पालिकाको भाग्य रेखा भएको बताउँदै एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का उम्मेदवार समेत रहनुभएका थापाले सडक निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । ‘समपुरक योजना अनुरुप सडक स्तरोन्नतीको काम भैरहेको छ ।’ ,उहाँले भन्नुभयो, ‘पालिकाको सार्मथ्य कम हुने भएकाले अन्य श्रोतबाट बजेटको व्यवस्थापन गरेरै भए पनि सडक निर्माण सम्पन्न गरिनेछ ।’

 

चुनाव केन्द्रीत भेटघाटका लागि सरुमारनी गाउँपालिका क्षेत्रमा रहनुभएका थापासँग स्थानीय विकास योजनाका बारेमा ध्यानाकर्षण गराएका छन् । सडक कालोपत्रे, पुल, विद्युतको क्षमता बृद्धि गर्ने, अधुँरो लिफ्ट खानेपानी आयोजनालाई सम्पन्न गर्ने लगायतका माग रहेका छन् ।