प्यूठान । भारतीय दुतावासकी काउन्सीलर गितांजली ब्रैंडनले प्यूठान स्थित एक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्नुभएको छ । ऐरावाती गाउँपालिका-१ दाङवाङ स्थित दाङवाङ माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय तथा छात्राबास भवन उद्घाटन गर्नुभएको हो ।
कुल ३ करोड ३९ लाख २२ हजार ५ साय १ रुपैयामा भवन निर्माण भएको हो । गाउँपालिकाको २० प्रतिशत लागत साझेदारी र भारतीय दुतावासको८० प्रतिशत आर्थिक सहयोगमा भवन निर्माण गरिएको गाउँपालिका अध्यक्ष नबिल बिक्रम शाहले बताउनुभयो । नेपाल-भारतको सहकार्य विकास, समृद्धि र आपसी हितका लागि अझै प्रभावकारी हुँदै जाने उनले बिश्वास व्यक्त गर्नुभयो ।
नेपाल भारत बिकास साझेदारी अन्तरगत भवन निर्माण गरिएको काउन्सीलर गितांजली ब्रैंडनले बताउनुभयो । भारतले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसर पारेर द्वयपक्षिय सम्बन्धलाई प्रगाढ बनाउने शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको उहाँले बताउनुभयो । भारत सरकारले गर्ने विद्यालय भवन निर्माण, स्कुल बस र एम्बुलेन्स सहयोगले दुर्गम क्षेत्रमा शिक्षा र स्वास्थ्यको पहुँच सुनिश्चित गर्न महत्वपुर्ण भुमिका खेलेको उहाँको भनाई थियो ।
नयाँ भवन र छात्रावास बनेपछि झण्डै ४ हजार जनसंख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने विद्यालयका प्रधानाध्यापक तुल्सिराम आचार्यले बताउनुभयो । विद्यार्थीहरूले सुरक्षित, स्वच्छ र सिकाइका लागि अनुकूल वातावरण पाउने र अभिभावकहरु ढुक्क हुने भन्दै उहाँले शिक्षकहरूले अझ प्रभावकारी रूपमा अध्यापन गर्ने उल्लेख गर्नुभयो ।





