प्यूठान । अपांगता भएका व्यक्तिहरुको समुदायमा आधारीत पुर्नस्थापना कार्यक्रम(सिविआर)लाई प्रभावकारी बनाउन तर्फ लाग्नुपर्नेमा जिल्लाका सरोकारवालाले सुझाव दिएका छन् ।
सिविआर तथा अपांगताको सवालमा पत्रकार तथा संघ संस्थाका प्रतिनिधिबीच अन्र्तक्रिया कार्यक्रममा सहभागीले सिविआर कार्यक्रमको ढाँचा राम्रो भएकाले यसलाई प्रभावकारी कार्यान्वयन गर्न सुझाव दिएका हुन् ।
राष्ट्रिय अपांग सेवा संघ प्यूठानको आयोजना तथा मल्लरानी गाउँपालिकाको सहयोगमा सिविआर कार्यक्रम सञ्चालन भएको अध्यक्ष जुमानसिंह केसीले जानकारी दिनुभयो । उहाँले कार्यक्रमले अपांगतासँग जोडिएका सवै पक्षलाई समेट्ने समेत बताउनुभयो । उहाँका अनुसार लुम्बिनी प्रदेशको मल्लरानी गाउँपालिकाले मात्र सिविआर कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।
गाउँपालिका अध्यक्ष अमरध्वज रानाले पालिकाले अध्यक्ष विशेष कार्यक्रमबाट सिविआर कार्यक्रमका लागि बजेट विनियोजन गरेको जानकारी दिनुभयो । उहाँले बजेट अभावमा धेरै कार्यक्रम गर्न नसकेपनि गाउँपालिकाले सवै सरोकारवालालाई समेट्ने प्रयास गर्दै आएको समेत बताउनुभयो ।
सिविआर कार्यक्रम महत्वपूर्ण भएकाले आगामी दिनमा समेत निरन्तरता दिनुपर्ने सहभागीको सुझाव छ । उनीहरुले जिल्लाका अरु स्थानीय तहले समेत कार्यक्रम बनाउनका लागि संघले समन्वय गर्नुपर्ने बताएका छन् । कार्यक्रमको सञ्चालन सिविआर समन्वयकर्ता राजेन्द्र राउत क्षेत्रीले गर्नुभएको थियो ।