> समाज > स्वास्थ्यकर्मीलाई सरकारी मापदण्ड अनुसार पारिश्रमिकको व्यवस्था गर्न माग


स्वास्थ्यकर्मीलाई सरकारी मापदण्ड अनुसार पारिश्रमिकको व्यवस्था गर्न माग

प्यूठान । स्वास्थ्यकर्मीहरुलाई नेपाल सरकारले तोकेको अनुसार तलब–भत्ता प्रदान गर्न राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल जिल्ला शाखा प्यूठानले माग गरेको छ । प्रमुख जिल्ला अधिकारी मार्फत स्वाथ्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै महासंघले यस्तो माग गरेको हो ।

 

नीजि अस्पताल, नर्सिङ होम, क्लिनिक, गैरसरकारी स्वास्थ्य संस्था लगायत स्वास्थ्यसँग सम्बन्धित समग्र निकायहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई नेपाल सरकारले तोके अनुसारको तलब–भत्ता प्रदान गर्न माग गरेको हो । महासंघले असोज २० गतेदेखि नेपाल नर्सिङ संघको नेतृत्वमा भैरहेको आन्दोलन प्रति ऐक्यवद्धता समेत जनाएको छ ।

 

ज्ञापन पत्र बुझाउँदै महासंघले स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई रोजगारदाता संस्थाले सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्ध गराउनुपर्ने माग गरेको छ । सरकारद्धारा अनुगमन गरि पेशागत हक अधिकारलाई कुण्ठित गरेको पाइएमा कडा कानुनी कारवाही गर्न समेत जोडदार माग गरेको छ ।

 

महासंघको देशव्यापी कार्यक्रम अन्तरगत शुक्रबार प्यूठानका प्रमुख जिल्ला अधिकारी मार्फत मागहरु सहित स्वास्थ्यमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको महासंघका प्यूठान अध्यक्ष पुरनसिंह थापाले जानकारी दिनुभयो ।