प्यूठान, ७ असोज । ऐरावती गाउँपालिका वडा नं. २ लामीदमारमा ठाडो खोलाले बगाएर एक व्यक्ति बेपत्ता भएका छन् ।
मंगलबार स्थानीय छेस्के ठाडो खोला तर्ने क्रममा बगाएर ३५ वर्षीय गजेन्द्र बहादुर बाकबल(मगर) बेपत्ता हुनुभएको हो । जंगलबाट गोठालो गएर घर फर्किने क्रममा खोलाले बगाएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो । बेपत्ता व्यक्तिको खोजीकार्यका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।
खवर प्राप्तभएसँगै घटनास्थल जाँदै गरेको स्थानीय एवं जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशवराज आचार्यले बताउनुभयो । घटनास्थल नजिकै रहनुभएका आचार्यले छोराछोरी र गाईगोरुलाई खोला पार गराएपछि बाकबललाई घाँसको भारी सँगै बगाएको खवर प्राप्त भएको बताउनुभयो ।
घटनास्थल ऐरावती गाउँपालिकाको दुर्गममा पर्ने समेत उहाँले जानकारी दिनुभयो । स्थानीयले बेपत्ता बाकबलको खोजी कार्य जारी राखेको समेत उहाँले बताउनुभयो ।
