> समाज > सरसफाई गर्नेलाई वडाले पुरस्कार दिने !


सरसफाई गर्नेलाई वडाले पुरस्कार दिने !

प्यूठान । साप्ताहिक रुपमा श्रमदान मार्फत सरसफाइ अभियान संचालन गर्दै आएको प्यूठानको एक वडाले अब सरसफाइ गर्नेलाई पुरस्कृत गर्ने भएको छ । १ सय २१ हप्तादेखि प्रत्येक शनिवार टोल बस्तिमा सरसफाइ गतिविधि गर्दै आएको गौमुखी गाउँपालिका ५ नं. वडा खुङले प्रतियोगिता मार्फत पुरस्कार दिने कार्यक्रम अघि सारेको हो ।

 

गोरेटो तथा मोटरबाटो, घरआँगन, टोलबस्ति तथा सार्बजनिक स्थलहरुको सरसफाइमा खट्ने उत्कृष्टलाई पुरस्कार प्रदान गर्ने वडा अध्यक्ष बरुणध्वज मल्लले बताउनुभयो । नजिकिदै गरेको तिहारदेखि अनुगमन गरिने र फागु पुर्णिमाको अवसरमा पुरस्कार दिने उहाँले जानकारी दिनुभयो । पुर्णिमाको अवसरमा वडाले यहाँ रुपा-गुफा साहसिक दौड तथा बिबिध कार्यक्रम गर्दै आएकोछ ।

 

सरसफाइ प्रतियोगितामा प्रथम हुनेलाई ८ हजार, दोश्रोलाई ६ हजार, तेश्रोलाई ४ हजार र सान्तोना हुनेलाई २ हजार नगद र सम्मान पत्र उपलब्ध गराइनेछ । नगद पुरस्कार वडा अध्यक्षले पाउने पारिश्रमिकबाट र सम्मान पत्र वडा कार्यालयको तर्फबाट प्रदान गरिने अध्यक्ष मल्लले बताउनुभयो । सहयोगीहरुबाट प्राप्त हुने सहयोग रकमबाट पुरस्कार राशी वृद्धि गर्दै लैजाने उहाँले उल्लेख गर्नुभयो ।

 

गौमुखी गाउँपालिकाले संचालन गरिरहेको गौमुखी भ्रमण वर्ष २०८२ लाई लक्षित गरि प्रतियोगिता आयोजना गरिएको हो । खुङको भ्रमणमा आउने पर्यटकहरुको स्वागतका लागि प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष मल्लले बताउनुभयो ।