आर्थिकआर्थिक/बिकाससमाज

प्यूठानका अलपत्र ५ योजनाको ठेक्का सम्झौता तोड्न प्रक्रिया शुरु

प्यूठान । सडक डिभिजन प्यूठानले अलपत्र अवस्थामा रहेका ५ योजनाको ठेक्का सम्झौता तोड्ने प्रक्रिया शुरु गरेको छ । कार्य तालिका अनुसार कामको प्रगति नगरेको र सम्झौता बमोजिमको समयावधिमा कार्य सम्पादन नगरेको भन्दै ठेक्का सम्झौता तोड्न कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ ।

 

जलुके–नल्सी, झिवाङ–घुइवाङ, पुरन्ठाँटी–मलावाङ, सारी–खुग्रीं जोड्ने मोटरेवल पक्की पुल र होलेरी–स्वर्गद्धारी–भिंग्री सडकको कार्य प्रगति सन्तोषजनक नभएकोले प्रचलित कानुन बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्न लागेको हो । जलुके–नल्सी पुल मृत संजिविनी/लोहनी जेभि, झिवाङ–घुइवाङ पुल सपना/जय बागेश्वरी माता जेभि, पुरन्ठाँटी–मलावाङ पुल सपना/जय बागेश्वरी माता जेभि, सारी–खुग्रीं पुल नागार्जुन कन्ष्ट्रक्सन कम्पनी र होलेरी–स्वर्गद्धारी–भिंग्री सडक लोहोनी/बरदेवी/रानीवन जेभिले निर्माण सम्झौता गरेका हुन् ।

 

पटक पटक लिखित तथा मौखिक ताकेता गर्दा समेत वेवास्ता गरी हालसम्म निर्माण कार्य सम्पन्न गर्ने तर्फ कुनै तदारुकता नदेखाएको र निर्माण कार्य शुरु गरि विना जानकारी कार्य स्थगित गरी वीचमै अलपत्र छोडेकोले निर्माण सम्झौता अन्त्य गरी कालोसूचीमा राख्न सूचना जारी गरिएको सडक डिभिजन प्यूठानले जनाएको छ ।

 

सडक डिभिजन प्यूठानले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२८ को उपनियम (२)को खण्ड (घ) बमोजिम खरिद सम्झौता अन्त्य गरी खरिद ऐनको दफा ६३ बमोजिम कालोसूचीमा राख्ने उल्लेख गरेको छ । कानुन बमोजिम निर्माण व्यवसायीले १५ दिन भित्र चित्त बुझ्दो स्पष्टीकरण पेश गर्न मौका पाउने छन् ।

Related Articles

Back to top button