प्यूठान । स्वर्गद्वारी नगरपालिकाले सोमबार शोक विदा गर्ने भएको छ । आज बसेको कार्यपालिकाको आकस्मिक बैठकले उपप्रमुख मिनराज राना मगरको निधन प्रति दुःख व्यक्त गर्दै शोक विदा दिने निर्णय गरेको हो ।
असार १५ गते एक दिन शोक विदा दिने र नगरपालिकाको कार्यालयमा राष्ट्रिय झण आधा झुकाउने निर्णय भएको नगर प्रमुख टेक प्रसाद भण्डारीले जानकारी दिनुभयो । रानाको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरिएको छ । आईतबार विहान नगरपालिकाको कार्यालयमा श्रद्धान्जली सभा गर्दै राष्ट्रिय झण्डा ओढाइएको हो ।
श्रद्धाञ्जली सभामा लुम्बिनी प्रदेश सभा सदस्य नीमा गिरी, जिल्ला स्थित पालिकाका प्रमुख, उपप्रमुख लगायत जनप्रतिनिधिहरु, राजनितिज्ञ, सामाजिक व्यक्तित्व, उद्योग, व्यवसायी लगायत नगरबासीहरुको उपस्थिति रहेको थियो । रानाको आजै धनवाङ खोलामा अन्त्यष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।
रानाको शनिवार साँझ सवारी दुर्घटनामा ज्यान गएको हो । स्वर्गद्वारी नगरपालिका–२ लिब्जामा पोषण कार्यक्रमको अनुगमन पछि स्वर्गद्वारीबाट धनवाङ जाँदै गर्दा बाङ्गेसल्लामा भएको दुर्घटनामा रानाको ज्यान गएको हो । ५१ वर्षिय राना अघि वडा नं. २ को वडाध्यक्ष र अहिले नगरपालिकाको उपप्रमुख हुनुहुन्थ्यो ।





