समाजस्थानीय सरकार

प्यूठानको खुङमा नियमित जनश्रमदानमा आधारित सरसफाई अभियान

प्यूठान । हरेक सानो–तिनो विकास र सामाजिक कामका लागि सरकारकै मुख ताक्ने प्रवृत्ति समाजमा व्याप्त छ । तर, प्यूठानको गौमुखी गाउँपालिका–५ का स्थानीयले भने आफ्नै पहलमा उदाहरणीय कार्य गरेर देखाएका छन् ।

सामाजिक कार्यमा स्थानीयको सहभागिता बढाउने उद्देश्यका साथ यहाँ वडा कार्यालयको अगुवाइमा हरेक साता श्रम शिविर मार्फत नियमित सरसफाई अभियान सञ्चालन भइरहेको छ ।

विशेष चाडबाड, मेला पर्व वा गाउँमा आइपर्ने प्राकृतिक विपत्तिका समयमा केही साता यो अभियान रोकिए पनि अन्य समयमा भने यो निरन्तर चल्दै आएको छ ।

हरेक शनिवार संचालन हुने यस अभियान मार्फत गाउँका गोरेटो बाटो, मठमन्दिर, सामुदायिक भवन, विद्यालय र सार्वजनिक स्थलहरूको सरसफाई गर्ने गरिएको छ । ‘स–साना कामको लागि पनि सरकार र अन्य निकायको मुख ताक्ने चलन बढ्दो छ ।’ ,वडाध्यक्ष बरुणध्वज मल्लले भन्नुभयो, ‘समाज र समाजिक कार्य प्रति स्थानीयलाई उत्तरदायी बनाउन यस्तो कार्य संचालन गर्दै आएका छौं ।’ अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउन वडाले निराजन विक्रम मल्लको संयोजकत्वमा सक्रिय जनस्वयंसेवक समिति समेत गठन गरेको छ ।

गाउँमा युवा जनशक्तिको अभाव भए पनि विदेशमा रहेका युवाहरूले गाउँको यो सकारात्मक कार्यलाई निकै सराहना गरेका छन् । अध्ययन र रोजगारीका लागि विदेशिएका तिनै युवाहरूले अभियानमा श्रम गरिरहेका स्थानीयलाई खाजाको व्यवस्थापनका लागि आर्थिक सहयोग रकम पठाउने गरेका छन् ।

लामो समय स्थानीय निकायमा सामाजिक परिचालनको कामको अनुभव पछि वडाध्यक्ष बनेका बरुणध्वज मल्लको यस्तो अभियानले सामाजिक कार्य प्रति स्थानीयको सक्रियता थप बढाएको छ । २०७९ सालको स्थानीय तह निर्वाचनबाट वडाध्यक्षमा पदमा निर्वाचित भएसँगै मल्लले शुरु गरेको यो अभियान अनवरत चलिरहेको छ । बाध्यताले भन्दा पनि गाउँप्रतिको अपनत्वले गर्दा यो अभियानले श्रम संस्कृतिको सम्मान त गरेको छ नै, सँगैसँगै आफ्नो गाउँ आफैँ बनाऔँ भन्ने मूल मर्मलाई पनि चरितार्थ गरेको स्थानीय बताउँछन् ।

Related Articles

Back to top button