स्थानीय सरकार

गौमुखी माध्यमिक विद्यालय ठूलावेशीमा नर्सिङ कार्यक्रम प्रभावकारी बन्दै

प्यूठान । माध्यमिक तह विद्यालयमा स्वास्थ्य प्रवद्र्धनात्मक कार्यक्रम संचालनका लागि सरकारले विद्यालय नर्सिङ कार्यक्रम संचालन गरे पनि अधिकांस विद्यालयमा कार्यान्वयनमा आउन सकेको छैन । तर प्यूठानको विकट र दुर्गम मानिने गौमुखी गाउँपालिकाले नमुना परियोजनाको रुपमा एक माध्यमिक विद्यालयमा नर्सिङ कर्मचारीको व्यवस्थापन गरी यसलाई कार्यान्वयनमा ल्याएको छ ।

विद्यार्थीहरुको समग्र स्वास्थ्य, सरसफाई, पोषण, मानसिक स्वास्थ्य, किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य प्रवद्र्धन गर्न तथा सर्ने र नसर्ने रोग रोकथाम बारे जानकारी गराई स्वस्थ जीवन यापन अपनाउन उत्प्रेरित गर्न विद्यालय नर्स कार्यक्रम संचालन गरेको हो । गाउँपालिकाले व्यवस्थापन गरेको विद्यालय नर्स कार्यक्रमका स्वास्थ्यकर्मीले विद्यार्थीहरुलाई फोलिक एसिड, आइरन चक्की, स्वास्थ्य शिक्षा, विद्यार्थीको स्वास्थ्य परिक्षण, विद्यार्थीहरुको स्वास्थ्य सम्वन्धी आनीवानीको परिवर्तन, विद्यार्थीहरुको व्यक्तिगत तथा विद्यालयको वातावरणीय सरसफाईको सचेतना सहित प्राथमिक उपचारको समेत काम गर्दै आएको गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले बताउनुभयो ।

विद्यालयमा उपलब्ध हुने खानेपानीको सुद्धता, वातावरणीय सरसफाई, सामान्य विरामीको प्राथमिक उपचार, स्यानेटरी प्याडको व्यवस्थापन, दिवा खाजाको गुणस्तरीयताको विषयमा विद्यालय नर्स कार्यक्रम अन्तरगत स्वास्थ्यकर्मीले निगरानी गर्ने गरेका छन् । ‘विद्यालय समयमा सामान्य विरामी हुने विद्यार्थीहरुको प्राथमिक उपचार विद्यालयमै हुन्छ ।’ ,नर्सिङ स्टाफ अस्मिता सुनारले भन्नुभयो, ‘जटिल प्रकारका घाउ चोट लागेका विद्यार्थीलाई नजिक पर्ने स्वास्थ्य चौकीमा लगेर उपचार गर्ने गरेका छौं ।’

विद्यालय समयमा सामान्य सामान्य चोट पटकको उपचार हुने भएको छ भने मौषमी विरामीका कारण विद्यालय छोड्ने विद्यार्थीहरु अहिले नियमित विद्यालय आउने र स्वास्थ्य उपचार सेवा पनि लिने गरेको विद्यालयका प्रधानाध्यापक माधव पोख्रेलले बताउनुभयो । विगत दुई वर्ष देखि यसरी विद्यालयमै नर्सिङ सेवा संचालन हुँदै आएको र यसको प्रभावकारिता राम्रो रहेको उहाँको भनाई छ ।

गाउँपालिकाको सहयोग र विद्यालयको सक्रियतामा स्वास्थ्यकर्मीसँगै छुट्टै प्राथमिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । यसका लागि विद्यालयमै एउटा छुट्टै कोठा स्थापना गरिएको छ । अति आवश्यक मेडिकल औजार सहित औषधी, एउटा बेड र अन्य सामाग्रीको व्यवस्थापन गरिएको छ । नमुना परियोजनाको रुपमा एउटा मात्र विद्यालयमा यस्तो अभ्यास गरेको गौमुखी गाउँपालिकाले यसको प्रभावकारीता अध्ययन गरी थप विद्यालयहरुमा सेवा विस्तार गर्ने योजना बनाएको छ ।

Related Articles

Back to top button