प्यार अलि खान
प्यूठान । लोकदोहोरी मोडल नारायणी खत्री १३ औँ म्युजिक खबर म्युजिक अवार्ड – २०८२ मा ‘उत्कृष्ट लोकदोहोरी महिला मोडल’बाट सम्मानित हुनुभएको छ। काठमाडौंमा आईतबार आयोजित समारोहमा ‘करिमैले´ बोलको गीत मार्फत उक्त प्रतिष्ठित अवार्ड आफ्नो नाममा पार्न सफल हुनुभएको हो ।
स्वभाविक अभिनय, आकर्षक अभिव्यक्ति र मौलिक प्रस्तुतिका कारण दर्शक माझ छुट्टै पहिचान खत्रीको अर्को विशेषता भनेको स्टेज कार्यक्रममा सधैं मर्यादित नेपाली पहिरन ‘सारी’मै प्रस्तुति दिनु हो । आधुनिक फेसनको प्रभाव बढिरहेका बेला पनि नेपाली मौलिक पहिरनलाई निरन्तर आत्मसात् गर्दै नृत्य प्रस्तुत गर्ने गरेकाले दर्शकमाझ उहाँको अलग्गै छवि बनेको छ। धेरै कलाकारले विभिन्न शैलीका पहिरन रोज्ने गरे पनि सारी नै नारायणीको परिचय र विशेष पहिचान बनेको छ ।
यसअघि पनि म्युजिक खबर म्युजिक अवार्डको ११ औँ संस्करणमा उत्कृष्ट लोकदोहोरी महिला मोडल घोषित हुनुभएको थियो । पुनः सोही विधामा अवार्ड जित्दै उहाँले नेपाली लोकदोहोरी भिडियो क्षेत्रमा आफ्नो सशक्त उपस्थिति थप स्थापित गर्नुभएको छ ।
यसवर्ष उत्कृष्ट लोकदोहोरी महिला मोडल विधामा ‘सेतै दुध सेतै चौलानी’बाट करिष्मा ढकाल, ‘मेरो परान’बाट जुना विश्वकर्मा, ‘हिमाली फूल’बाट रविना भण्डारी र ‘माया मोह’बाट सुस्मिता गुरुङसँग प्रतिस्पर्धा गर्दै ‘करिमैले बोल’ गीतबाट खत्री विजेता बनेका हुन ।
अवार्ड ग्रहणपछि खत्रीले दर्शक, शुभचिन्तक, गीतका सर्जक, गायक–गायिका, निर्माता तथा सम्पूर्ण टिमप्रति आभार व्यक्त गर्दै यो सम्मानले आगामी दिनमा अझ उत्कृष्ट काम गर्न प्रेरणा दिएको प्रतिक्रिया दिनुभयो ।
नेपाली लोकसंस्कृति, मौलिक पहिरन र लोकदोहोरी संगीतको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर समर्पित रहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जन्मघर प्यूठान हुँदै कर्मघर दाङ बनाएकी नारायणी खत्री अहिले नेपाली लोकदोहोरी क्षेत्रकी लोकप्रिय र व्यस्त मोडल मध्ये हुन् । दर्जनौँ चर्चित गीतका भिडियोमा अभिनय गरिसकेकी उहाँले अभिनयसँगै नेपालीपन झल्किने मर्यादित पहिरनलाई निरन्तरता दिँदै आउनुभएको छ ।





