प्यूठान । प्यूठान उद्योग वाणिज्य संघको ३६ औं स्थापना दिवसका पूर्व सन्ध्यामा सरसफाई कार्यक्रम गरिएको छ । मल्लरानी बजार क्षेत्र र डिभिजन वन कार्यालय प्यूठानको संयुक्त आयोजनामा खलंगामा सरसफाई कार्यक्रम गरिएको हो ।
खलंगा पाटीचोक, भिमसेन मन्दिर, गणेश मन्दिर, शिवालय मन्दिर तथा बजार क्षेत्रमा सरसफाई गरिएको बजार क्षेत्रका अध्यक्ष भरतकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
असार १५ गते संघको स्थापना दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय प्यूठानको वालमा बनाइएको भित्तेचित्रको अनावरण, रक्तदान लगायतका कार्यक्रम तय गरिएको संघका कार्यकारी निर्देशक प्रकाश खनालले बताउनुभयो ।
२०४८ साल असार १५ गते प्यूठान व्यापार संघको नाममा प्यूठान उद्योग बाणिज्य संघ स्थापना भएको हो । नौ वटा बजार क्षेत्र रहेको संघ नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध छ । संघमा ४ हजार बढि उद्योग व्यवसायी आवद्ध छन् ।






