प्यूठान, १९ बैशाख ।
अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश सन्देश जारी गर्दै यस दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रतालाई सुनिश्चित गर्नका लागि विश्वभरिका श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभएको छ ।
संविधानको भावना अनुरुप नेपाल सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत बेरोजगारहरूका लागि कम्तीमा सय दिनको रोजगारी प्रदान गर्नुका साथै श्रमिकको आधारभूत अधिकार सुनिश्चित गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम मार्फत श्रमिकहरूको सामाजिक सुरक्षा सुनिश्चित जारी सन्देशमा उल्लेख छ ।
शुभकामना सन्देशको पूर्ण पाठ ः
अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १), २०२० को शुभकामना सन्देश
अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १), २०२० को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवम् श्रमअधिकार सुनिश्चितताको लागि शुभकामना व्यक्त गर्दछु । यस अवसरमा मुलुकमा पूर्ण लोकतान्त्रिक शासन प्रणालीसहित गणतन्त्र स्थापनामा नेपाली श्रमिक वर्गले पुर्याएको अमूल्य योगदानको स्मरण गर्दै उच्च सम्मान गर्दछु।
श्रमिकहरूको हक अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा विश्वभर ‘अन्तर्राष्ट्रिय श्रमिक दिवस’ मनाउने गरिन्छ । यस दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रतालाई सुनिश्चित गर्नका लागि विश्वभरिका श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने अपेक्षा मैले लिएको छु ।
नेपालको संविधानले संपूर्ण नागरिकहरूका लागि रोजगारीको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित श्रम अभ्यासको अधिकारका साथै उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चित गरेको छ । सोहीअनुरुप नेपाल सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत बेरोजगारहरूका लागि कम्तीमा सयदिनको रोजगारी प्रदान गर्नुका साथै श्रमिकको आधारभूत अधिकार सुनिश्चित गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम मार्फत श्रमिकहरूको सामाजिक सुरक्षा सुनिश्चित गरेको छ । कृषि क्षेत्रको श्रमलाई उच्च सम्मान गर्दै औपचारिक र अनौपचारिक सबै श्रमलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सम्बद्ध पक्षले ध्यान पुर्याउने अपेक्षा लिएको छु ।
मुलुकमा न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानले मूर्तरूप लिँदै जाने सन्दर्भमा यसबाट श्रमिक वर्ग पनि लाभान्वित हुने विश्वास मैले लिएको छु । प्राकृतिक स्रोत तथा सम्पदामा सम्पन्न हाम्रो मुलुकमा विकासको ठूलो संभावना भएकाले यसलाई साकार तुल्याउन श्रमको व्यापक आवश्यकता पर्दछ । यसका लागि सबैले श्रम गर्ने अवसरसहित सामाजिक आर्थिक समुन्नति हासिल गर्न सम्पूर्ण नेपाली एकजुट हुनुपर्ने तर्फ सम्बद्ध सबैको ध्यान आकृष्ट गराउन चाहन्छु।
आज हामी नोवल कोरोनाभाइरस (कोभिड-१९) को विश्वव्यापी महामारीका कारण इतिहास कै कठिन मोडमा उभिएका छौं । मानव जातिका विरुद्ध आइलागेको यस विषम परिस्थितिमा धैर्य र संयमताका साथै एकताबद्ध भएर यस महामारी विरूद्धको लडाइँमा विजय हासिल गर्नुछ । महामारीले विश्वलाई नै आक्रान्त पारेको वर्तमान परिवेशमा सामान्य जनजीवन र अर्थतन्त्रमा प्रतिकूलता ल्याएकाले यसलाई मध्यनजर गर्दै नेपाल सरकारका आगामी नीति तथा कार्यक्रम अघि बढ्ने र यसबाट श्रमिकहरूको जीवन पनि सामान्य अवस्थामा फर्किने आशा लिएको छु ।
अन्तमा, अन्तर्राष्ट्रिय श्रमिक दिवसको सुखद् अवसरमा संपूर्ण श्रमिकहरूको हित अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, रोजगारीको ग्यारेण्टी एवम् सामाजिक सुरक्षा लगायतका श्रमअधिकार सार्थक रूपमा प्रयोग गर्न सकून् भन्ने शुभकामना व्यक्त गर्दछु।
धन्यवाद ।
२०७७ साल वैशाख १९ गते, शुक्रबार ।













