प्यूठान, १२ जेठ । प्यूठानमा चालु आर्थिक वर्षमा मात्र ९१ वटा आत्महत्याका घटना छन् । जसमा ७८ वटा झुण्डिएर, ११ वटा विष सेवन गरी र २ वटा भिरबाट हामफलेर आत्महत्याका घटना भएका हुन् ।
सम्भवतः आत्महत्याका घटना हुने मुलुकभरमा जिल्लाहरु मध्य प्यूठान जिल्ला अग्रस्थानमा पर्दछ ।
अघिल्लो आ.व. आ.व. ०७६÷७७ मा ६२, आ.व. ०७५÷७६ मा ६८ र ०७४÷७५ मा ६१ वटा आत्महत्याका घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानसँग तथ्यांक छ ।
पारिवारीक कलह, मादक पदार्थ सेवन, बेरोजगार, मानसिक तनाव, गरीवी, प्रेममा धोका लगायतका कारणले आत्महत्याका घटना हुने गरेको प्रहरी निरिक्षक देविप्रसाद गैरेले जानकारी दिनुभयो । ‘आत्महत्या रोकथामका लागि प्यूठान प्रहरीले चेतनामुलक कार्यक्रम, मनोपरामर्श, भिडियो प्रर्दशनी लगायतका कार्यक्रम गर्दै आएको छ ।’, उहाँले भन्नुभयो ।
१६ देखी २५ वर्ष र ३६ देखी ४५ वर्ष उमेर समुहका व्यक्तिले बढी आत्महत्या गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।
हिजो मगलबार विहान प्यूठान नगरपालिका–१ चेरनेटा नजिकको जंगलमा तीन जना रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।
