समाज

खलंगा आधारभूत विद्यालयमा सरस्वती मन्दिर र मञ्च निर्माण, दुवै संरचना उद्घाटन

प्यूठान । खलंगा आधारभूत विद्यालय, खलंगामा नवनिर्मित सरस्वती मन्दिरमा सरस्वतीको मूर्तिको प्राणप्रतिष्ठा गरिएको छ । साथै, विद्यालय परिसरमा निर्माण गरिएको मञ्चको समेत उद्घाटन गरिएको छ ।

खलंगा निवासी समाजसेवी भरत कुमार श्रेष्ठ र सरस्वती श्रेष्ठको परिवारले निजी लगानीमा सरस्वती मन्दिर निर्माण गरेको हो । स्वर्गीय बुवा विष्णु कुमार श्रेष्ठ र आमा योगमाया श्रेष्ठको स्मृतिमा मन्दिर निर्माण गरिएको भरत कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी, खलंगा निवासी ८८ वर्षीया धुमा लक्ष्मी श्रेष्ठले आफ्ना स्वर्गीय श्रीमान् एकप्रसाद श्रेष्ठको स्मृतिमा विद्यालय परिसरमा मञ्च निर्माण गरिदिनुभएको हो ।

विद्यालयको शैक्षिक तथा भौतिक वातावरणलाई थप व्यवस्थित बनाउन सहयोग पुर्‍याउने उद्देश्यले निर्माण गरिएका दुवै संरचनाको शनिबार आयोजित एक समारोहबीच उद्घाटन तथा हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खड्काको प्रमुख आतिथ्यता तथा प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष सन्देश आचार्यको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, शिक्षाप्रेमी, विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

व्यक्तिगत लगानीमा विद्यालयलाई धार्मिक तथा शैक्षिक प्रयोजनका संरचना निर्माण गरिदिएर स्वर्गीय अभिभावकको स्मृतिलाई सामाजिक सेवासँग जोड्ने श्रेष्ठ परिवारको पहललाई स्थानीय स्तरमा उदाहरणीय सामाजिक योगदानका रूपमा लिइएको छ ।

Related Articles

Back to top button