समाज

सर्वोदय मावि गडेरपानीको ३८ औँ वार्षिकोत्सवमा बिभिन्न बिधामा सम्मान तथा पुरस्कृत

प्यूठान । झिमरुक गाउँपालिका-२ गडेरपानी स्थित सर्वोदय माध्यमिक विद्यालयले आफ्नो ३८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

आइतबार बिद्यालयको प्राङ्गणमा आयोजित वार्षिकोत्सव तथा अभिभावक दिवसको गाउँपालिका अध्यक्ष पितबहादुर महतराक्षेत्रीले दीप प्रज्वलन गरेर उद्घाटन गर्नुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष महतराक्षेत्रीले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । यसका लागि व्यवस्थापन समिति, शिक्षक विद्यार्थी र अभिभावकको सहकार्य समन्वय आवश्यक रहेको धारण राख्नुभयो । जनशक्ति, शैक्षिक, भौतिक तथा अन्य व्यवस्थापनको लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पछिल्लो समय युवायुवती विदेश पलायन हुने क्रम र यसको तथ्यांक चिन्ताजनक रहेको उल्लेख गर्दै उहाँले सबै तहका सरकार यस विषयमा गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो । नेपालमै नयाँ अवसरको खोजी गर्दै दक्ष जनशक्तिलाई देशमै रोक्न सम्भावनाको पहिचान र उपयोग गर्नुपर्ने उहाँको भनाइ थियो । यसका लागि स्थानीय तहको प्रयास मात्र पर्याप्त नहुने भन्दै संघ र प्रदेश सरकारले पनि फराकिलो सोचका साथ नीति तथा कार्यक्रम ल्याउनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा झिमरुक गाउँपालिका–३ र ७ का वडाध्यक्ष मीनबहादुर केसी र कृष्णबहादुर जिसी, पूर्ववडाध्यक्ष बलबहादुर महतरा, प्रभात आधारभूत विद्यालयका शिक्षक तीर्थराज पोख्रेल, युवा नेता मिलन एमसी, समाजसेवी झकबहादुर जिसी लगायतले विद्यालयको आर्थिक, भौतिक तथा शैक्षिक विकासका लागि शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

शिक्षक प्रतिनिधि रमेशबहादुर थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लालबहादुर एमसीले विद्यालयको समग्र अवस्था समेटिएको प्रगति प्रतिवेदन तथा आयव्यय विवरण प्रस्तुत गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वासुदेव घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष पितबहादुर महतराक्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक शिवबहादुर महतराले गर्नुभएको हो ।

२०४५ सालमा स्थापना भएको विद्यालयमा ३३५ भन्दा बढी विद्यार्थी अध्ययनरत

सर्वोदय माध्यमिक विद्यालय वि.सं. २०४५ सालमा स्थापना भएको हो । हाल विद्यालयमा कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ । विद्यालयमा ३३५ भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।

शैक्षिक सत्र २०८१ मा कक्षा १० र १२ को परीक्षामा विद्यालय जिल्ला प्रथम भएको थियो । त्यस्तै २०८१ को एसईई परीक्षामा झिमरुक गाउँपालिका भरि तेस्रो स्थान हासिल गरेको पालिकाले जनाएको छ ।

वार्षिकोत्सवको अवसरमा शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पुर्‍याउने तथा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने एघार जना शिक्षक–शिक्षिकालाई नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरिएको छ । अक्षयकोषदाताहरुलाई समेत सम्मान गरिएको थियो ।

त्यस्तै विद्यालयमा अध्ययनरत जेहेन्दार, दलित तथा विपन्न विद्यार्थी, नियमित उपस्थित हुने र उत्कृष्ट नतिजा हासिल गर्ने ३० जना विद्यार्थीलाई पुरस्कार वितरण गरिएको प्रधानाध्यापक लालबहादुर एमसीले जानकारी दिनुभयो ।

Related Articles

Back to top button