प्यूठान, १ बैशाख । स्वर्गद्वारी जिप दुर्घटनामा गम्भिर घाइते भएकाहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीको प्राथमिक उपचारपछि गम्भिर घाइते भएका ६ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानको अगुवाईमा नेपाल आर्मीको हेलिकप्टरमार्फत गम्भिर घाइते ६ जनालाई काठमाडौँ पठाइएको हो ।
गम्भिर घाइते भएका सार्थक ज्ञवाली, कमला ज्ञवाली, मुना पाण्डे, गिता मुखिया, अनिश मुखिया, सन्दिप परियार र कुरुवाको रुपमा सामान्य घाइते भएका सुनिता कडेललाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले बताउनुभयो ।
यस्तै अन्य घाइतेको जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र भिग्रिमा उपचार भईरहेको छ ।
