> राजनीति > मतदाता नामावली संकलन गर्न विशेष कार्यक्रम : ठाउँसारी गर्न के गर्ने ?


मतदाता नामावली संकलन गर्न विशेष कार्यक्रम : ठाउँसारी गर्न के गर्ने ?

प्यूठान । जिल्ला निर्वाचन कार्यालय प्यूठानले मतदाता नामावली संकलन गर्न विशेष कार्यक्रम गर्न लागेको छ । त्यसका लागि स्थानीय तहमा मतदाता नामावली संकलन गर्ने गरि कार्यतालिका बनाएको छ ।

 

निर्वाचन कार्यालय प्यूठानका कार्यालय प्रमुख राजन श्रीवास्तवका अनुसार मल्लरानी बाहेकका ८ वटा स्थानीय तहबाट मतदाता नामावली संकलन गरिनेछ । “दुई चरणमा नामावली संकलनको कार्यतालिका रहेको छ”, उहाँले भन्नुभयो,“प्रत्येक पालिकामा १० दिनसम्म नामावली संकलनको काम हुन्छ ।”

 

पहिलो चरण मंसिर ८ गतेदेखि १७ गतेसम्म स्वर्गद्धारी नगरपालिका, सरुमारानी गाउँपालिका, गौमुखी गाउँपालिका र झिमरुक गाउँपालिकामा मतदाता नामावली संकलन गर्ने तालिका छ । दोस्रो चरणमा मंसिर २९ गतेदेखि पुस ९ गतेसम्म माण्डवी गाउँपालिका, ऐरावती गाउँपालिका, नौवहिनी गाउँपालिका र प्यूठान नगरपालिकामा मतदाता संकलन गरिनेछ ।

 

मतदाता नामावली सार्न के गर्ने ?
मतदाता नामावलीको ठाउँसारीका लागि बसाईसराईको प्रमाणपत्रलाई अनिवार्य बनाइएको छ । कार्यालय प्रमुख श्रीवास्तवका अनुसार पहिलो लालपुर्जा, विद्युत जडानको रसिद लगायत कागजातबाट ठाउँ सार्न मिलेपनि अहिले बसाईसराईको कागज अनिवार्य गरिएको हो । त्यसैगरि महिलाको हकमा विवाह दर्ताको कागज आवश्यक पर्ने श्रीवास्तवले बताउनुभयो ।

 

प्यूठानमा कति छन मतदाता
१६वर्ष उमेर पुगेका नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिको मतदाता नामावली संकलन हुन्छ । तर उनीहरुले मतदान गर्न पाउँदैनन् । मतदान गर्नका लागि १८ वर्ष उमेर पुगेको हुनुपर्छ ।

 

प्यूठानमा मंसिर १३ गतेसम्मको तथ्यांक अनुसार १ लाख ५४ हजार ९७ जनाको मतदाता नामावलीमा नाम रहेको छ । तर यो मतदान गर्न पाउनेको संख्या होइन । मतदान गर्न पाउनेको संख्या १ लाख ४९ हजार २ सय ६८ रहेको छ । जुन एक वर्ष अघि अर्थात २०७७ पुस ५ गतेको अद्यावधिक तथ्यांक हो ।

 

मतदान गर्ने नागरिकको नैसर्गिक अधिकार भएकाले उमेर पुगेका व्यक्तिलाई मतदाता नामावलीमा नाम दर्ता गराउन कार्यालय प्रमुख श्रीवास्तवले आग्रह गर्नुभएको छ । सरकारले निर्वाचन मिति घोषणा गरेपछि मतदाता नामावली संकलनको कार्य रोकिने भएकाले पनि समयमै मतदाता नामावलीमा नाम दर्ता गराउन उहाँले आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *