प्यूठान, १५ भाद्र । कोरोना संक्रमणको जोखिम कम गर्न प्यूठानमा ५० वेडको आईसोलेसन कक्ष तयार गरिएको छ ।
कोभिड संकट व्यवस्थापन केन्द्रले संक्रमणको तयारी स्वरुप स्वास्थ्य मापदण्ड अनुसार केन्द्र तयार गरेको हो । पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जिल्ला स्तरको आइसोलेसन केन्द्र तयार गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनुभयो ।
प्यूठानको मध्यक्षेत्र प्यूठान नगरपालिका–४ विजुवार स्थित जेष्ठ नागरिक संरक्षण केन्द्रमा आईसोलेसन कक्ष तयार गरिएको छ । “पछिल्लो समय सर्वसाधारण देखि फ्रन्ट लाईमा काम गर्नेहरुमा समेत संक्रमण वढ्दै गएको छ,” भुसालले भन्नुभयो, जोखिमलाई मध्यनजर गर्दै तयारी स्वरुप कक्ष स्थापना गरिएको हो ।” आईसोलेसन केन्द्र संचालन मापदण्ड अनुसार सुरक्षा, एम्वुलेन्स, सववाहन, डाक्टरको व्यवस्थापन लगायत आवश्यक पूर्वाधारको समेत व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो । केन्द्रमा आवश्यकता अनुसार ७० बेडसम्म राख्न सकिने उहाँको भनाई छ ।
सोमवार जिल्ला स्थित नगर तथा गाउँपालिकाका मेयर तथा अध्यक्ष, सुरक्षा निकायका प्रमुख लगायत सरोकारवालको उपस्थीतिमा केन्द्रको उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख तथा केन्द्र व्यवस्थापन समितिका अध्यक्ष पदम थापाले संकट व्यवस्थापनमा सवै पालिकाहरुको समन्वयकारी भूमिका हुनुपर्ने औल्याउनुभयो ।
जिल्लामा हालसम्म ४४८ कोरोना सङ्क्रमित पुष्टि भएको छ । जसमध्ये १ जनाको मृत्यु भएको छ । ३८८ जना निको भएर घर फर्किएको र ५९ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
