रूपन्देही । नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष)का नेता किरण गौतम आगामी १५ औँ नियमित महाधिवेशनबाट केन्द्रीय सदस्यका रूपमा अघि बढ्ने चर्चामा छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिने गौतमको केन्द्रीय नेतृत्वमा प्रवेशलाई लिएर पार्टी वृत्तमा चर्चा सुरु भएको हो ।
१८ वर्षको उमेरदेखि कांग्रेसको क्रियाशील सदस्य बनेका गौतमले नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गर्नुभएको हो । विद्यार्थी राजनीतिसँगै पार्टीका विभिन्न संगठनात्मक गतिविधि र निर्वाचन अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएका उहाँ हाल १५ औँ महाधिवेशन तयारी समिति रूपन्देहीका सचिव हुनुहुन्छ ।
राजनीतिसँगै सामाजिक तथा आर्थिक क्षेत्रमा समेत सक्रिय गौतमले बैंक तथा वित्तीय संस्थामा १७ वर्षदेखि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ । संगठनात्मक अनुभव, राजनीतिक सक्रियता र सामाजिक योगदानका आधारमा उनलाई केन्द्रीय नेतृत्वमा अघि बढाउनुपर्ने चर्चा उहाँ निकट वृत्तमा भइरहेको छ ।
पार्टीभित्र एकता, सहकार्य र संगठन सुदृढीकरणलाई प्राथमिकता दिँदै गौतम केन्द्रीय सदस्यका आकांक्षी रहेको उहाँ निकट स्रोतले जनाएको छ।










