प्यूठान । जिल्लामा बैंकिङ कसुर र साईबर सम्बन्धि नयाँ प्रकृतिका अपराध देखापरेका छ्न । जिल्ला प्रहरी कार्यालय प्यूठानको पछिल्लो ११ महिनाको तथ्यांक अनुसार बैंकिङ कसुरमा ९ वटा र साईबर अपराधमा १ वटा घटना दर्ता भएका छ्न ।
जिल्लामा यी दुई प्रकारका अपराधिक घटना नयाँ प्रकृतिका रहेको प्रहरी नायब उपरीक्षक दिपेश बस्यालले बताउनुभयो । बैंकिङ कसुरका प्रतिबादीलाई अनुसन्धानको दायरामा ल्याई कानुन बमोजिम कार्वाही प्रकृया अघि बढाइएको उहाँले बताउनुभयो ।
त्यस्तै ईन्टरनेटका माध्यमबाट अस्लिल म्यासेज गर्ने, चरित्र हत्या गर्ने र मानमर्दन गर्नेलाई प्रहरीले अनुसन्धानबाट दोषी पत्ता लगाई कानुन बमोजिम प्रक्रिया अघि बढाएको छ ।
पछिल्लो ११ महिनामा लागु औषध सम्बन्धि मुद्दा नरहेको प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीको तथ्यांक अनुसार गत असोज महिनादेखि भदौं मसान्तसम्म कर्तव्य ज्यानका ८, जवरजस्ती करणीका १५, चोरीका ५, जबरजस्ती करणी उद्योगका ६, साईबर अपराधका एक वटा घटना घटेका छन् ।
यस अवधिमा ८८ वटा आत्महत्या, २ वटा जातिय छुवाछुत तथा भेदभाव, १५ वटा अभद्र व्यवहार, ५ वटा बहुविवाह र १ वटा बालबिवाहका मुद्दा प्रहरी समक्ष पुगेका छन् । १ सय ५६ वटा ठाडो उजुरी परेकोमा सवै मिलापत्र भएको प्रहरी नायब उपरीक्षक बस्यालले बताउनुभयो ।






