> समाज > प्यूठानमा बँदेलले किसानलाई सतायो, मानव र वन्यजन्तुबीच द्वन्द्व सृजना


प्यूठानमा बँदेलले किसानलाई सतायो, मानव र वन्यजन्तुबीच द्वन्द्व सृजना

प्यूठान, ९ भाद्र प्यूठान नगरपालिका–२ को आरनेटा, रातामाटा, साजखर्क, आरुधारा लगायत ठाउँमा गत वर्षदेखि बँदेलले बाली खान शुरु गरेको हो । यो वर्षपनि किसानले लगाएको मकै लगायत खाद्यान्न बालीमा बँदेलले क्षति गर्दै आएको किसानले बताएका छन् ।

स्थानीय नगेन्द्र आचार्यले बँदेल धपाउन बारीमा ‘साइरन वेल’ राखेपनि समस्या समाधान हुन नसकेको गुनासो गर्नुहुन्छ । बँदेल लखेट्न गाउँलेले आगो बाल्ने, मादल बजाउने, हल्ला गर्ने गरेपनि दिगो समाधान नभेटिएकोे भन्दै निराश भएका छन । जंगली बँदेलले वर्षेनी खाद्यान्न बालीमा क्षति गर्दै आएको भन्दै निराश बनेका छन् ।

बँदेलले पाक्न थालेको मकैबाली नष्ट गर्न थालेपछि त्यसको रोकथामका लागि खट्ने गरेका किसान समेत बँदेलको आक्रमणमा पर्न थालेका छन् । बँदेलबाट मकैबाली जोगाउन बारीमा पुग्ने किसानलाई पछिल्लो समय आक्रमण गर्न थालेको हो ।

केहि दिन अघि स्वर्गद्वारी नगरपालिका–३ साेंडका युवराज खत्री बँदेलको आक्रमणमा परी घाईते हुनभएको छ । विहानै आफ्नै घर पछाडी रहेको बारीमा मकै हेर्न जानुभएका खत्रीलाई बँदेलले आक्रमण गरेर घाईते बनाएको हो । बँदेलले ३६ वर्षीय खत्रीको बाँया हातमा टोकेको र उपचारका लागि भैरहवा पठाइएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिनुभयो ।

बँदेलले मकैबाली नष्ट गर्न थालेपछि बाली जोगाउन किसानले विभिन्न उपाय अपनाउँदै आएका छन् । सोमबार बँदेलका लागि राखिएको विद्युत्तिय धरापमा परेर एक महिलाको समेत ज्यान गएको छ ।

ऐरावती गाउँपालिका–२ उखारीका ६० वर्षीय पिमा थापाको घर नजिकै आफ्नै बारीमा राखिएको विद्युत्तिय धरापमा परेर ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्लाभर अहिले बँदेलको सङ्ख्या धेरै देखिएको डिभिजन वन कार्यालय प्यूठानका रेञ्जर हरि पौडेलले जानकारी दिनुभयो । “धेरै किसानका खाद्यान्न बाली नष्ट गरेको खवर आइरहेका छन्” उहाँले भन्नुभयो,“मानव र वन्यजन्तुबीच द्वन्द्व सृजना भएको छ, यसको व्यवस्थापन जरुरी छ ।”

“बँदेलले खाद्यान्न बाली क्षति गरेको भन्दै सरकारले बँदेल बारीमा आएमा लखेट्ने÷धपाउन पाउने व्यवस्था गरेको छ” उहाँले भन्नुभयो,“यदि लखेट्दा÷धपाउँदा मरिहाल्यो भने स्थानीय जनप्रतिनिधिको रोहबरमा मुजुल्का बनाएर गाडिदिने र त्यसको जानकारी स्थानीय सरकार र वन कार्यालयलाई दिने भन्ने छ, यसमा कानुन लाग्दैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *