प्यूठान । जिल्ला अस्पतालको नयाँ सुविधा सम्पन्न भवन निर्माण सुस्त गतिमा छ । निर्माण व्यवसायीले ८ अहिलदेखि काम रोक्दा निर्माण कार्य समयमै सम्पन्न हुनेमा अन्यौल बढेको छ ।
शहरी विकास तथा भवन निर्माण कार्यालय दाङ मार्फत ग्राण्ड डिजाइन कन्ट्रक्सन प्रा.लि. नेपालगञ्जले कुल २१ करोड २० लाख ५३ हजार ७ सय ६८ रुपैंयामा ठेक्का सम्झौता गरेको हो । निर्माण कम्पनीलाई काममा लगाउन पटक पटक ताकेता गरेको कार्यालय प्रमुख इश्वरी प्रसाद देवकोटाले बताउनुभयो ।
`काम शुरु गर्नभन्दै पटक पटक पेश्की फिर्ता गरी ग्यारेन्टी रोक्का गर्छाै भनेका छौ ।’ ,निर्माण कम्पनीलाई पत्र लेखेको भन्दै कार्यालय प्रमुख देवकोटाले भन्नुभयो, `आसा गरौं निर्माण कम्पनीले काम शुरु गर्नेछ ।’ अझै एक वर्ष म्याद रहेकोले अन्य प्रक्रिया म्याद सकिएपछि अघि बढाउने कार्यालय प्रमुख देवकोटाको भनाई छ । अन्डर ग्राउण्ड पार्किङ सहित, लिफ्ट, अपाङ्ग, बालमैत्री, भूकम्प प्रतिरोधी सहितको आधुनिक ५ तले भवन निर्माण गर्ने योजना छ । हालसम्म ३५ प्रतिशत भौतिक र पेश्की सहित २२ प्रतिशत आर्थिक प्रगति रहेको कार्यालयले जनाएको छ ।
२०८३ जेठ ६ गते सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भएपनि कामको प्रगति हेर्दा काम सम्पन्न हुने अवस्था देखिँदैन । ८ वटा पूराना टहराहरू हटाएर ५५ हजार बर्गफिट क्षेत्रफलको भवन निर्माण थालिएको हो ।
२०४३ सालदेखि १५ शैयाको अस्पतालको रुपमा विकास भएपनि भौतिक संरचना अभावले सेवाप्रवाहमा समस्या भएको छ । ५० शैयाको सेवा सुविधा प्रदान गरिरहेको अस्पताल, अहिले पनि पुरानै साँघुरा कोठाबाट ओपिडि सेवा संचालनमा छ ।
भवन अभावकै कारण पार्कीङ सहित अस्पतालको सेवा सेवाप्रवाहमा समस्या परेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विजयविराज विष्टले बताउनुभयो । `नयाँ भवन निर्माण भएपछि पार्कीङको समेत समस्या हट्नेछ ।’ ,अध्यक्ष विष्टले भन्नुभयो, `पुरानो संरचनालाई थप उपयोगमा ल्याउन सकिन्छ ।’
निर्माण कम्पनीलाई सम्पर्कमा ल्याएर समस्या समाधानका लागि प्रयास गरे पनि सफल हुन नसकेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.ओम प्रसाद अर्यालले बताउनुभयो । `म गत माघ १० गते कार्यालय आएको हुँ अहिलेसम्म निर्माण कम्पनीका प्रतिनिधिहरुसँग भेट भएको छैन ।’ ,उहाँले भन्नुभयो, `फोन गर्दा स्विच अफ हुन्छ, ट्रेसिङ गरेर खोज्दा पनि कहिले विराटनगर त कहिले काठमाण्डौं देखाउँछ ।’ निर्माण कार्यलाई सूचारु गर्न मन्त्रालयसँग समन्वय गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।
विरामीको चाप र पुरानो भौतिक संरचनाबाट सेवा संचालनमा बाधा पुगेको अस्पतालका मेडिकल सुपरिटेण्डेन डा.ओम अर्यालले बताउनुभयो । एम्वुलेन्स फर्काउन समेत समस्या छ । भवन निर्माणले धेरै सहज हुने अपेक्षा गरिएकोमा निर्माण कार्य नै ठप्प हुँदा नबन्ने हो की भन्ने चिन्ता बढाएको उहाँले उल्लेख गर्नुभयो ।
प्यूठान जिल्ला सहित छिमेकी रोल्पा, गुल्मीका स्थानीयले सेवा लिइरहेका छन् । दैनिक सरदर २०० सेवाग्राहीले सेवा लिइरहेकाछ्न ।
