प्यूठान । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरू हुने हिन्दुहरूको पर्व बडा दसैं सोमबारदेखि प्रारम्भ भएको छ ।
यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैं घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।
घटस्थापनाको साइत ०९: १३ बजे
आजैका दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो ।
आज घटस्थापनाको साइत बिहान ०९ः१३ बजे रहेको समितिले जनाएको छ ।
नौ दिन नौ दुर्गाको पूजा
यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौं दिन महागौरी, र नवौं दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ। यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भन्ने गरिन्छ ।
विजयादशमीको साइत असोज १६ गते बिहान ११: ५३ बजे
नवरात्र भनेरसमेत चिनिने दसौं रात र दश दिनको हुने गरेकामा यस वर्ष १० रात र ११ दिनको हुन पुगेको छ। तिथिको घटबढका कारण यस्तो परेकाले यस्तो अवस्थामा खापेर पुगेको हो ।
आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई असोज १६ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फुललप्रसाद ग्रहण गर्ने गरिन्छ ।
असोज १६ गते देवी विसर्जनको साइत बिहान ०९: २३ बजे रहेको समितिले जनाएको छ । टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११ : ५३ बजेको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ ।





