राष्ट्रियसमाज

प्यूठानमा पहिलो दिन ३० जनाले लगाए कोरोना विरुद्वको खोप

प्यूठान, १५ माघ । प्यूठानमा कोरोना विरुद्वको प्रथम चरणको खोप अभियान शुभारम्भ गरिएको छ । आज जिल्ला कोभिड १९ खोप समन्वय समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच प्यूठान अस्पताल विजुवारमा शुभारम्भ गरिएको हो ।

प्रजिअ भुसाल र जिल्ला समन्वय समितिका प्रमुख आचार्यले जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सबु काफ्लेलाई खोप तथा खोपजन्य सामग्री हस्तान्तरण गर्नुभएको थियो । स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदी र प्यूठान अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सबु काफ्लेलाई खोप लगाई खोपको शुभारम्भ गरिएको हो ।

 

 

आज पहिलो दिन स्वास्थ्य कार्यालय प्यूठानमा कार्यरत र प्यूठान अस्पतालमा कार्यरत ३० स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख सुवेदीले जानकारी दिनुभयो । खोप अभियान माघ २१ गते सम्म चल्नेछ । उहाँले भन्नुभयो, “पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्य सस्थामा कार्यरत अन्य कर्मचारी, एम्वुलेन्स चालक, स्वयमसेविका लगायत जिल्लाभरका ११ सय ५२ जनालाई खोप लगाईने लक्ष्य रहेको छ ।”

 

जसमा प्यूठान नगरपालिकामा १२७ जना, झिमरुक गाउँपालिकामा ९८ जना, गौमुखी गाउँपालिकामा ११७ जना, माण्डवी गाउँपालिका ८० जना, मल्लरानी गाउँपालिकामा ९३ जना, नौवहिनिमा १११ जना, स्वर्गद्वारी नगरपालिकामा १४३ जना, सरुमारानी गाउँपालिकामा ७७ जना, ऐरावतीमा ८९ जनामा, गैरसरकारी तथा निजी कार्यालयमा कार्यरत कर्मचारी ८० जनामा, एम्वुलेन्स चालक र सहचालक १८ जनामा, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालमा कार्यरत कर्मचारी ११९ जनामा कोरोना विरुद्धको खोप लगाइने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय प्रमुख सुवेदीले बताउनभयो ।

 

पहिलो चरणमा जिल्लामा २३ सय ६० डोज खोप आएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

 

Related Articles

Back to top button