विचारसम-सामायिक

पत्रकारिता क्षेत्रका ८ अनुभव र प्रबृत्ति

[mashshare]

विपुल पोख्रेल

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा यस वर्ष ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने नाराका साथ आज बिश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइदै छ । कोरोना संक्रमणका कारण खुला र ठूला कार्यक्रम हुन नसके पनि बिगतको समिक्षा र अनुभववाट प्राप्त तथ्यहरुका आधारमा आउँदा दिनमा काम गर्ने संकल्प गर्दै यो दिवस मनाइदै छ । सामाजिक दूरी कायम गर्दै भिडियो कन्फेरेन्सका माध्यमवाट र सामाजिक सञ्जालमार्फत शुभकामना आदान प्रदान पनि गरिदै छ । युनेस्कोको अह्वानमा मे ३ लाई सन् १९९३ देखि मनाइदै आको हो । तय गरिएको छ ।
नेपालमा नेपाल पत्रकार महासंघले यो दिनमा आफ्नो बार्षिक प्रदिबेदन जारी गर्छ र नेपाली पत्रकारिताको अबस्था जस्ताको तस्तै राख्ने प्रयास गर्छ । महासंघको प्रतिबेदन अनुसार यो बर्ष ६० वटा घटनामा परी ९४ पत्रकार र ३ वटा संचार संस्था गरी ९७ को संख्या पीडितको सूचिमा सूचिकृत छ ।

अघिल्लो बर्ष पनि घटना ६० नै थिए तर पीडित हुने संख्या ८२ थियो । यो तथ्याङ्कले हामी खराव बाटोमा छौ भन्ने देखाएको छ । त्यतिमात्र हैन, रिपोर्टर विदआउट बोर्डर (आरएसएफ) ले प्रकाशित गरेको प्रेस स्वतन्त्रता इन्डेक्स २०२० मा नेपालको स्थान गत वर्षको तुलनामा ६ स्थान खस्किएर १८० राष्ट्रहरुमध्ये ११२ औं स्थानमा रहेको छ । आरएसएफले पनि सञ्चारसम्बन्धी प्रस्तावित कानूनहरु र सरकारका प्रतिनिधिहरुले प्रेसका बारेमा गर्ने टिप्पणीहरुलाई नै आधार मानी यस वर्ष नेपालको स्थान खस्किएको जनाएको छ ।

यी आंकडाका कुरा भए । यो दिन पत्रकार महासंघका अध्यक्षले शुभकामना सन्देश दिने परम्पार पनि छ । यो सन्देश महासंघको एउटा महत्वपूर्ण दस्तावेज नै मानिने गर्दछ । अध्यक्षको शुभकामना सन्देशमा भनिएको एउटा अंश हेरौं । त्यहाँ भनिएको छ, ‘यसवर्ष विभिन्न तहका निर्वाचित सरकारको नेतृत्ववाट संचारकर्मी र सञ्चारमाध्यमले आफ्नो पक्षमा नलेखेको भन्दै पटक पटक खुल्लारुपमा आरोप र धम्की दिने कार्य पनि भएका छन् । आफ्नो र सरकारको गुणगान गाउँदा ठीक भन्ने र अलिकति मात्रै आलोचना वा सत्य तथ्य समाचार र सूचना प्रभाह भयो भने सञ्चारकर्मी र सञ्चार माध्यम विरुद्ध खनिने प्रवृत्तिले लोकतन्त्रको संस्थागत विकासमै बाँधा पु¥याउँदछ । यसतर्फ सम्वन्धित सबैको ध्यान जानु पर्दछ । साथै यस वर्ष अनलाइन सञ्चार माध्यममा समाचार लेखेकै आधारमा पत्रकारलाई साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ गर्ने तथा अदालतले रिहा गरेका पत्रकार अदालतको गेटवाटै पुनः पक्राउ पर्ने क्रम बढ्नुले नेपाली पत्रकारितामा नयाँ चुनौति थपिएको छ ।’

सन्देशको यो अंश आफै प्रष्ट छ, यसले थप ब्याख्या खोज्दैन । नेपाल पत्रकार महासंघले नेपालमा हुने प्रेस स्वतन्त्रता हनन्का घटनाहरूको निरन्तर अनुगमन गर्दै आइरहेको छ । २०५६ सालदेखि महासंघले प्रेस स्वतन्त्रता हनन्का घटना अभिलेखीकरण गर्दै आएको छ । हाल महासंघमा यसका लागि छुट्टै सञ्चार अनुगमन इकाइको व्यवस्था गरिएको छ । गत दुई वर्षदेखि उक्त इकाइले प्रेस स्वतन्त्रता हनन्का घटना अभिलेखीकरणका लागि अनलाइन डाटाबेस तयार गरी सबै घटनालाई त्यहाँ रेकर्ड गर्ने गरेको छ, जुन डाटाबेस महासंघको वेबसाइटमा सबैले सजिलै हेर्न सकिने गरी राखिएको छ । यसरी डाटा अभिलेख गर्ने सन्दर्भमा निश्चित बिधी अपनाइएको हुन्छ । त्यो बिधीले मार्गप्रशस्त गरेका घटनाहरु मात्र त्यहाँ रेकर्ड हुने हो ।

यती स्पटिकरण यहाँ किन दिइएको हो भने यो बिधीले अध्यक्षले आफ्नो सन्देशमा उल्लेख गरेको ‘निर्वाचित सरकारको नेतृत्ववाट संचारकर्मी र सञ्चारमाध्यमले आफ्नो पक्षमा नलेखेको भन्दै पटक पटक खुल्लारुपमा आरोप र धम्की दिने कार्य गरेको’ जस्ता बिषयहरु अभिलेखमा संग्रहित छैनन् । डाटामा भएका कुराहरु वेभसाइटवाट हेर्न सकिन्छ पनि ।

यहाँ नेपालको पत्रकारिताले हासिल गरेका केही अनुभूति र भोगेका प्रबृत्तिहरुको चर्चा गरौं ।

नीतिगत समस्या
यस वर्ष प्रेस स्वतन्त्रतामाथि खतरा आउन सक्ने नीतिगत वातावरण बनेको छ । विभिन्न तहहरूमा कानून निर्माणको प्रक्रिया अघि बढिरहँदा कतिपय ऐन र प्रस्तावित मस्यौदाहरूमा प्रेस स्वतन्त्रता ग्यारेण्टी गर्ने संविधानका धाराहरू विपरित हुने खालका प्रावधानहरू राखिएको छ । नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रतालाई सुनिश्चित गरिएको भएतापनि विभिन्न ऐन तथा कानूनमार्फत् प्रेसको स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजिनु प्रेस स्वतन्त्रतामाथिकै गम्भीर चुनौति हो ।

कार्यकारीवाटै आलोचित र अपमानित
माथी उल्लेख गरेझैं निर्वाचित कार्यकारी नेतृत्ववाट पत्रकारिताले हौसला पाउनुको साटो बारम्बार अपमानित र आलोचित हुनुप¥यो । प्रधानमन्त्री स्वयंले गंभिर आरोप लगाउनु भयो । अस्थिरताको कारक, भ्रमपूर्ण र मिथ्या प्रचार गर्ने, सिडियो एसपीलाई थाहा नुहँदै रिपोर्टिङमा पुग्ने रहस्यमय काम गर्ने जस्ता शब्दावलीवाट पत्रकारिता क्षेत्र र पत्रकारलाई बिभुषित गर्नुभयो । कोरोनाको संकटमा चुनौतिको सामना गर्दै अग्रपंक्तिमा काम गर्ने पत्रकारहरुलाई राज्यले कुनै पनि रुपले हौसला दिने प्रोत्साहिन दिने काम गरेन ।

अभिभावकबिहिन अनुभूति
नेपाली प्रेसले यतिबेला आफूलाई अभिभावक बिहिन भएका अनुभूति गर्न बिबष भयो । राज्य हाम्रो पनि अभिभावक हो भन्ने अनुभूति गर्ने पत्रकारिता क्षेत्रले पाएन । आलोचनाका बौछार, सरकार र सत्तारुढ दलका नेता कार्यकर्ताले ‘नछाड्ने’ धम्की सहन प¥यो । कोरोना संक्रमणसंग अनपेक्षित रुपमा जुझ्न पर्दा पत्रकार महासंघ र प्रेस काउन्सिल नेपाल समेतले अलग अलग राज्यसंग यो संकटको समयमा सञ्चारकर्मी तथा संचारगृहका लागि अलग अलग राहत प्याकेज घोषणा गर्न अपिल गरे र प्याकेजमा के के कुरा राख्ने भन्ने पनि सुझाए । तर आजका दिनसम्म सम्बोधन हुने त परै जावस् त्यसतर्फ ध्यानाकर्षण भएको अनुभूति पनि भएन ।

प्रेसमाथी आक्रमणको नयाँ अभ्यास र तरिका अबलम्बन
काठमाडौंप्रेस डटकम अनलाइनले स्वास्थ्य सामग्री खरिद सम्बन्धी समाचार लेख्यो । त्यो समाचारमा प्रधानमन्त्रीका सचिवालयका पात्रहरु पनि जोडिएका थिए । समाचार हटाउन आग्रह, दवाव सबै आयो । तर हटेन । त्यो अनलाइनको डेभेलपर प्रधानमन्त्रीको आइटी बिज्ञको कम्पनी थियो । पछि डेपेलपर कम्पनीवाट नै त्यो अनलाइनको समाचार हटाइयो । अनाधिकृत रुपमा अरुको समाचार पोर्टोलमा प्रबेश गर्नु गंभिर नैतिक अपराध हो । यसो गर्दा कानुन पनि आकर्षित हुन्छ । तर, अहिलेसम्म कारबाही हुन सकेका छैन । ती बिज्ञ अझै प्रधानमन्त्रीको सचिवालयमा नै छन् । आफुलाई अरुची लाग्ने समाचार हटाउन यस्तो अभ्यास हुन सक्छ भन्ने भोगाई यो बर्षको नयाँ अनुभव हो । प्रेस माथी आक्रमणको यो नयाँ प्रबृत्ति पनि देखियो ।

त्रासका कारण सेल्ससेन्सरसीपको अबस्था
केही लेखे निशानामा परिन्छ कि ? भन्ने त्रास पत्रकारहरुमा गडेर बसेको देखिएको छ । छानी छानी साइबरक्राइमको मुद्दामा तान्ने प्रबृत्ति पनि बढ्दो छ । पत्रकारका परिवारका सदस्यहरुले कम लेख्न बोल्न भन्ने गरेको सुन्नमा आएको छ । पत्रकार महासंघको अभिलेख अनुसार पत्रकार गिरफ्तारका ८ वटा घटना भएका छन् । त्यस्तै स्वतन्त्र पत्रकारितामा अवरोध तथा कब्जाका ३ वटा घटना भएका छन् । पत्रकारमाथि आक्रमणका १३ वटा घटना भएका छन भने दुव्र्यवहार तथा धम्कीका ३२ वटा घटना भएका छन् । पत्रकार पेशाबाट विस्थापनको १ र पेशागत असुरक्षाका ३ वटा घटना भएका छन् । यो आंकडाले पत्रकारहरु आफै तर्सने अबस्था बन्दै छ । राज्यले ‘अब यस्तो हुँदैन, प्रेस स्वतन्त्रताको हामी संरक्षण गर्छौ’ भन्नुको साटो, ‘नछाड्ने’ धम्की आँउदा सेन्सरसीप महसुस हुने नै भयो ।

पत्रकारिता क्षेत्रले देखायो साहस
अनपेक्षित रुपमा आएको कोरोना संक्रमणको बैश्वीक संकटका समयमा पनि नेपाली पत्रकारिताले आफ्नो संयमता गुमाएन र दायित्व भुलेन । नागरिकलाई सही र तथ्यमा आधिकारिक सूचना दिन कहीँ चुकेन । कुनै पनि अपवाह फैलन पाएन । संकटको समयमा कुनै पनि प्रकारको अफवाह फैलिन पाएको छैन । आफ्ना आन्तरिक पेशागत समस्याहरुमा नअलमलिएर नागरिकलाई निरन्तर सूचना दिने आफ्नो दायित्वमा कहीँ कमी आउन दिएको छैन । यो बिचमा झण्डै २० वटा प्रेस स्वतन्त्रता हननका घटना भए । राज्यका संरचनाहरु प्रेस स्वतन्त्रतामाथी बिभिन्न ढंगले आक्रमणमा उत्रिए । तर पनि उच्च साहसका साथ पत्रकारहरु आफ्नो कार्यस्थलमा खटिएका छन् ।

आफ्नो सुरुक्षामा आफै सतर्क
आफैमा जोखिम मोल्ने पेशा भएता पनि नेपाली पत्रकाहरु कोरोना संक्रमणवाट जोगिन सकेका छन् । सामाजिक दूरी बनाएर रिपोर्टिङ गर्ने, प्रबिधिको प्रयोग गरेर(भाइवर, म्यासेन्जर आदी) अन्तरवार्ता लिने, क्वारेन्टाइन भित्र विना पीपीई प्रबेश नगर्ने जस्ता सतर्कता पत्रकारहरुले अपनाए, जस्ले गर्दा कोही पत्रकार संक्रमित हुन परिरहेको छैन ।

सिमित स्रोतसधानको अधिकतम प्रयोग
पत्रकारका लागि यो संकटको समयमा राज्यस्तरवाट कुनै प्याकेजको घोषणा हुन सकेन, त्यसका लागि गरिएको आग्रह र अपिललाई कतै थन्क्याएर राखियो । पत्रकार महासंघले गरेको अपिल अनुसार संचारमाध्यमहरुले पनि पत्रकारलाई संकटमा काम गरेवापत थप सुबिधा दिने कुरा सन्तोष मान्ने गरी कार्यान्वयन हुन सकेन । जहाँ भयो त्यो अपवादको सूचीमा मात्र सूचिकृत भएक छन् । स्थानीय सरकारको र निजी क्षेत्रको केही उदारता महसुस भयो, त्यो पनि अपवादका रुपमा नै । तर पनि आफूसंग भएको सिमित साधन स्रोतको अधिकम प्रयोग गर्दैै पत्रकारहरु कार्यस्थलमा देखिएकै छन् । यो समयलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अबसरका रुपमा कतिपय पत्रकारहरुले लिएको पाइएको छ ।

यो एक बर्षको अबधीमा नेपाली पत्रकारिताले उल्लेखित प्रबृत्ति झेलेको छ र अनुभव हासिल गरेको छ । यो नेपाली पत्रकारिताको इतिहासका बलिया पुँजीका रुपमा रहने छन् । पत्रकारितको इतिहासको अध्यताहरुका लागि यो बर्षका भोगाईहरु र यी भोगाइहरुले सिकाएका पाठकहरु गतिलो अध्यनको बिषय बन्ने छन् । ‘हामी एक्लै हुँदा पनि दायित्व निर्वाह गर्न सक्षम छौ’ भन्ने सन्देश उचों स्वरमा नेपाली प्रेसले दिन सकेको छ । त्यहीँ उचो स्वरमा स्वर मिलाउँदै भनौ, ‘प्रेस स्वतन्त्रता जिन्दावाद !’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close