सृजना सेन
प्यूठान, २३ माघ ।
वरीपरी खर्सुङको बोट बिचमा जलमग्न सफा पानी यो रानीताल हो । गौमुखी गाँउपालिका ३ रजवारा प्यूठानमा रहेको रानीतालमा अझै कसैको नजर पर्न सकेको छैन । प्राकृतिक रुपमै सुन्दरताले भरिपुर्ण रहेको यस स्थानमा कम मात्रामा स्थानियहरु घुम्न जाने भएपनि बाहिरका पर्यटक भने रानिताल सँग अपरिचित छन ।
हरियाली जंगलको बिचमा रहेको रानीताल सधैभरी एकैनासले जलमग्न भईरहने स्थानिय बिपिन घर्तिले बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘हिउदमा हिउ पर्ने हुदा रानीताल अझ राम्रो हुन्छ ।’ अर्का स्थानीय मानबहादुर बुढाका अनुसार स्थानीय कैलेकाही घुम्न गएपनि अन्य बाहिरि व्यक्ति भने अझै सम्मपनि देखेका छैन । रानीताल सँगै यस क्षेत्रमा अन्य हेर्न लायक स्थान भएपनि चर्चा हुन नसक्दा पर्यटक नआएको उहाँको बुझाई छ ।
रानीतालको सुन्दरता नाम जस्तै सुन्दर छ । जंगलको बिचमा रहेको तालको सरसफाई भने आसपासमा बस्ने चराहरुले गर्ने गरेको स्थानीय बताउँछन । वरीपरी खर्सुङको ठुला रुखहरु रहेका छन तर त्यसको पात भने पानीमा कैले देखिदैन । यहिनै रानीतालको खास बिशेषता रहेको बिपिनले बताउनुभयो ।
यस्तै रानीतालको पर्यटन प्रर्वधनको लागी गौमुखी गाउँपालिकाले पहल गरिरहेको गौमुखी गाउँपालिकाको प्रेससंयोजक तथा रजवाराको स्थानियबासी जोगिन्द्र मल्लले बताउनुभयो । उहाँका अनुसार अघिल्लो बर्ष पिकनिक स्पोर्ट बनाइएको छ । पानीको मुहान संरक्षण तथा पर्यटन प्रर्वधनको लागी पहल भइरहेको मल्लले जानकारी दिनुभयो । यस क्षेत्रमा झाक्रिढुङ्का मन्दिर, तिखाचुली, तथा दहाबासे पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न पहल भएपनि प्रचारप्रसारको अभाव भएको उहाँको भनाइ छ ।
भ्रमण बर्ष २०२० चलिरहदा रानीताल अझै पनि बेखवर रहेको छ । गौमुखी र रानीताल वारीपारी जस्तै भएपनि गौमुखीमा बिदेशि पर्यटक समेत पुग्दा पनि रानीताल अझै पनि ओझेलमै छ । एक पटक पुग्ने हो की ? प्यूठानको रानीताल