प्यूठान । जिल्लाका विभिन्न स्थानमा सञ्चालित होटल तथा खाद्य व्यवसायको अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दाङ, जिल्ला प्रशासन कार्यालय प्यूठान र घरेलु तथा साना उद्योग कार्यालय प्यूठानको संयुक्त टोलीले बड्डाडा, चकचके र जस्पुर क्षेत्रका होटल तथा खाद्य व्यवसायको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा केही होटलमा अखाद्य वस्तु, कृत्रिम रङ मिसाइएका खाद्य परिकार, कम गुणस्तरका तथा म्याद नाघेका खाद्य सामग्री फेला परेका छन् । अनुगमन टोलीले त्यस्ता खाद्य वस्तु नियन्त्रणमा लिँदै होटल सञ्चालकलाई खाद्य पदार्थको गुणस्तर कायम राख्न, स्वच्छ तथा सुरक्षित सामग्री प्रयोग गर्न र उपभोक्ताको स्वास्थ्यप्रति जिम्मेवार बन्न सुझाव दिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दाङका पदम बरालले अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तु तथा रङ मिसाइएका खाद्य परिकार नियन्त्रणमा लिइएको जानकारी दिँदै होटल सञ्चालकलाई खाद्य पदार्थको गुणस्तर र स्वच्छतामा विशेष ध्यान दिन आग्रह गरिएको बताउनुभयो ।
त्यस्तै होटलको भान्सा सफा राख्ने, खाद्य सामग्री व्यवस्थित रूपमा भण्डारण गर्ने, खाना पकाउने स्थानमा स्वच्छता कायम गर्ने तथा भान्सामा प्रयोग हुने उपकरण र भाँडाकुँडा सफा राख्न अनुगमन टोलीले सचेत गराएको घरेलु तथा साना उद्योग कार्यालय प्यूठानका कार्यालय प्रमुख ओमभक्त थापाले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा होटल तथा खाद्य व्यवसायको दर्ता र नवीकरणको अवस्थासमेत जाँच गरिएको थियो । खाद्य पदार्थमा मिसावट भए–नभएको, गुणस्तर र उपभोग्य मिति लगायतका विषयमा निरीक्षण गरिएको थियो ।
खाद्य पदार्थको गुणस्तर र स्वच्छता उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले होटल तथा खाद्य व्यवसाय सञ्चालकलाई प्रचलित खाद्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न अनुगमन टोलीले आग्रह गरेको छ ।










