आर्थिकसमाज

देउसी भैलोबाट बचत भएको रकम विद्यालयमा अक्षयकोष स्थापना गर्न सहयोग

प्यूठान । झिमरुक गाउँपालिका–५ ओखरकोट स्थित जनचेतना युवा क्लवले तिहारमा सञ्चालन गरेको देउसी भैलो कार्यक्रमबाट बचत भएको रकम मध्ये विद्यालयमा अक्षयकोष स्थापना गर्न २० हजार रुपैयाँ सहयोग गरेको छ ।

क्लवले देउसी भैलो २०८३ मार्फत कुल २ लाख ३९ हजार ६ सय ८८ रुपैयाँ संकलन गरेकोमा कार्यक्रम व्यवस्थापन खर्च कटाएर १ लाख ८८ हजार ६ सय १५ रुपैयाँ बचत गर्न सफल भएको हो । भैलो व्यवस्थापन संयोजक रामबहादुर जिसीका अनुसार संकलित रकमलाई सामाजिक तथा सांस्कृतिक कार्यमा उपयोग गर्ने उद्देश्यले क्लवले यस्तो निर्णय गरेको हो ।

बिहीबार क्लव कार्यसमिति र देउसी भैलोमा सहभागी कलाकारहरूको संयुक्त बैठकले बचत रकम सामाजिक उत्तरदायित्वका विभिन्न क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, हिरापोखरीमा ‘जनचेतना युवा क्लव देउसी भैलो २०८३ स्मृति अक्षयकोष’ स्थापना गर्न २० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।

क्लवका अध्यक्ष दलबहादुर जिसीले विद्यालयका प्रधानाध्यापक यशोदा खड्कालाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष जिसीले आगामी दिनमा अक्षयकोषको रकम क्रमशः वृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । बैठकले विद्यालयको मूल ब्यानर समेत क्लवले सौजन्य गर्ने निर्णय गरेको छ ।

यसैगरी देउसी भैलो कार्यक्रममा सहभागी कलाकार तथा सहयोगीहरूका लागि तत्काल सामूहिक अवलोकन भ्रमण आयोजना गर्ने र केही समयपछि दाता, कलाकार तथा शुभेच्छुकहरूलाई समेटेर सहभोज (पिकनिक) कार्यक्रम गर्ने निर्णय गरिएको छ । सहभोजका अवसरमा ५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग गर्ने दाताहरूलाई सम्मान गरिने अध्यक्ष जिसीले जानकारी दिनुभयो ।

क्लवले तिहारका विभिन्न दिनमा आयोजना गरेको देउसी भैलोसँगै मच्छीमा आयोजित द्वादशी मेला र ब्रह्माथान पूर्णिमा मेलामा समेत भैलो तथा सांगीतिक प्रस्तुति दिएको थियो । ती कार्यक्रममार्फत क्लवले स्थानीय दर्शकको मन जित्न सफल भएको थियो ।

Related Articles

Back to top button