> समाज > ट्राफिक प्रहरी कार्यालय प्यूठान मार्फत ‘सुरक्षित यात्रा अभियान कार्यक्रम’


ट्राफिक प्रहरी कार्यालय प्यूठान मार्फत ‘सुरक्षित यात्रा अभियान कार्यक्रम’

प्यूठान, २ कार्तिक । जिल्ला ट्राफिक प्रहरी कार्यालय देविस्थान प्युठानले चाडपर्व नजिकिएसँगै सवारी चेकजाँचलाई तिव्र पारेको छ । जिल्लामा सवारी दुर्घटना न्युनीकरण गर्न सवारी चेकचाँज तिव्र बनाइको हो ।

ट्राफिक प्रहरीले यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पु¥याउन तथा सवारी दुर्घटना न्यूनीकरण गर्न ‘सुरक्षित यात्रा अभियान कार्यक्रम’ सञ्चालन समेत गरेको छ । लामो समयसम्म बन्द रहेका यातायातका साधनहरु सुचारु भएसंगै यो कार्यक्रम सञ्चालन गरिएको हो । गत असोज १८ गतेदेखी माण्डवी गाउँपालिका वडा नं ३ जस्पुरबाट यो अभियानको सुरुवात गरिएको हो । अभियान मार्फत दुर्घटना न्युनीकरणसंगै विश्वव्यापी फैलिएको कोरोना भाईरस नियन्त्रणका लागि समेत यात्रुहरुलाई सचेत बनाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव निरीक्षक प्रविण आचार्यले जानकारी दिनुभयो । हालसम्म जिल्लाको बड्डाडा, जस्पुर, लामाचौर, भिग्री, विजुवार, बाग्दुला र चुजाँठाटीमा अभियान गरिएको उहाँले बताउनुभयो । अभियान मार्फत चालक सहचालकलाई सवारी दुर्घटना रोक्नका लागि सचेत बनाउँदै यात्रुहरुलाई कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि जानकारी गराईएको उहाँको भनाई छ ।

कार्यक्रम मार्फत सवारीसाधनमा यात्रा गरेका यात्रुहरुलाई सवारीसाधनबाट ओराली सामाजिक दुरी कायम गरी मास्क लगाउन, सुरक्षा सावधानी अपनाउनुका साथै कोरोनाबाट बच्ने उपायहरुका बारेमा जानकारी गराउने गरिएको उहाँले बताउनुभयो । हिजोसम्म सवारीसाधनमा यात्रु आधा र ५० प्रतिशत बढी भाडा लिनका लागि सवारी चालकलाई भनेका थियौ, उहाँले भन्नुभयो,–‘आजदेखी सरकारको निर्देशन अनुसार पुरा सिट मान्छे राख्न र भाडा पहिलेकै दररेटमा लिनका लागि भनेका छौँ ।’ ‘सुरक्षित यात्रा अभियान कार्यक्रम’ जिल्लामा निरन्तर सञ्चालन हुने उहाँको भनाई छ ।

तीन महिनामा एक हजार दुई सय ५० सवारी कारवाहीमा
प्यूठानमा चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा एक हजार दुई सय ५० सवारी कारवाहीमा परेका छन् । पछिल्लो ३ महिनामा जिल्लाका विभिन्न स्थानमा यात्रुहरु बढी बोकेका सवारी र कागजपत्र नभएका सवारीलाई नियन्त्रण लिई कारवाही गरिएको कार्यालय प्रमुख आचार्यले बताउनुभयो । कारवाही स्वरुप जरिवाना गरी सवारीसाधन छोडिएको उहाँको भनाई छ । साउन महिनामा चार सय ५० वटा, भाद्र महिनामा दुई सय ५० र असोज महिनामा पाँच सय ५० सवारीलाई कारवाही गरिएको तंथ्याक रहेको छ । कारवाहीमा परेका सवारीबाट ७ लाख ३१ हजार २ सय राजश्व संकलन भएको कार्यालय प्रमुख आचार्यले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *