प्यूठान, २६ कात्तिक । चितुवाको छाला र लागुऔषध अफिमसहित प्यूठानका १ जना सहित २ जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा दाङको घोरही उपमहानगरपालिका–८ बनगाउँबाट २ जना युवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा प्यूठान नौवहिनी गाउँपालिका–५ बस्ने २७ वर्षीय धनसिंह टमटा र दाङ घोराही उपमहानगरपालिका–१२ बस्ने २६ वर्षीय मधु डाँगी रहेका छन् ।
उनिहरुबाट ३ किलो ७५० ग्राम अफिम र पुच्छरसहितको चितुवाको छाला बरामद भएको छ । पक्राउ परेका उनिहरुलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
