प्यूठान । झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्य सम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ । बुधबार जर्मन विकास सहयोगको आर्थिक सहयोग तथा गाउँपालिकाको समन्वयमा मण्डेला नाटक समूहले पालिकाको सभाहलमा नाटक प्रदर्शन गरेको हो ।
नाटक ‘फर्किने बाटो’ मञ्चिय प्रस्तुति मार्फत समुदायका सवाललाई उजागर गर्दै दर्शकलाई ती विषयमा सोच्न, छलफल गर्न र आफ्नो धारणा व्यक्त गर्न प्रेरित गर्ने उद्देश्यले तयार गरिएको छ । समुदायमा विद्यमान सामाजिक कुरिति, असमानता र विभेद न्यूनीकरण गर्दै स्थानीय नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउने र जागरुक बनाउने उद्देश्यले नाटक प्रदर्शन गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विकास केसीले जानकारी दिनुभयो ।
नाटकमार्फत महिलाले भोग्नुपरेका सामाजिक चुनौती, निर्णय प्रक्रियामा महिलाको सहभागिताको महत्व तथा आर्थिक र सामाजिक रूपमा महिला सशक्तीकरणको आवश्यकतालाई समेत नाटकमा प्रस्तुत गरिएको थियो । साथै सबै वर्ग, जाति र समुदायको समान सहभागिता सुनिश्चित गर्दै सामाजिक समावेशीकरण प्रवद्र्धन गर्नुपर्ने सन्देश समेत नाटकमा समेटिएको थियो ।
नाटक प्रदर्शनपछि स्थानीय दर्शकहरूले यस्ता सचेतनामूलक कार्यक्रमले समाजमा सकारात्मक सोच विकास गर्न र विभेद न्यूनीकरणमा सहयोग पुग्ने प्रतिक्रिया दिएका छन् । कार्यक्रमको समापनमा गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले समाज रूपान्तरणका लागि कला र रंगमञ्च प्रभावकारी माध्यम भएको बताउनुभयो । उहाँले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने तथा लक्षित वर्गको उत्थानका लागि गाउँपालिकाको नीति तथा कार्यक्रममा जोड दिने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष क्षेत्री सहित उपाध्यक्ष प्रमोद पोख्रेल, निमित्त प्रमुख प्रशासकीय अधिकृत विकास केसी, जर्मन विकास सहयोग प्रतिनिधि, जनप्रतिनिधि, मण्डला थिएटर नेपालका कलाकारहरू, गाउँपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका लगायत स्थानीयको उपस्थिति थियो ।













