> आर्थिक/बिकास > कृषकको गुनासो : ‘कृषि एम्बुलेन्स देख्न सम्म पाएनौं’


कृषकको गुनासो : ‘कृषि एम्बुलेन्स देख्न सम्म पाएनौं’

प्यूठान, ३१ जेठ । प्यूठान नगरपालिका–८ धर्मावतिका कृषक शान्ती सार्की २२ वर्ष देखि व्यवसायिक तरकारी खेतीमा संलग्न हुनुहुन्छ ।

चार जना सदस्य रहेको उहाँको परिवारमा आम्दानीको मुख्य स्रोत नै व्यवसायिक तरकारी खेती हो । घर छेउमै रहेको चार रोपनी जग्गामा बाह्रै महिना विभिन्न जातका तरकारी उत्पादन गर्दै आएको उहाँ बताउनुहुन्छ ।

श्रीमान मुक्तवहादुर वसेल र छोराछोरी समेत तरकारी खेतीमा संलग्न हुन्छन् । कृषि फार्म देखि झण्डै दुई तिन किलोमिटर दुरीको अन्तरमा विक्रिका लागि बजार भएकाले उहाँको व्यवसायिक फार्म संचालन गर्न थप मद्धत मिलेको छ ।

तर कोरोनाका कारण लगातारको लगडाउनले उत्पादीत तरकारी वजारीकरण गर्न निकै समस्या परेको शान्ति बताउनुहुन्छ । ‘बजार सवै वन्द छन् । नजिकको वजारमा समेत तरकारी पु¥याउन सहज छैन,’ उहाँले भन्नुभयो, ‘यातायात समेत वन्द हुदाँ बोकेरै बाग्दुला, विजुवार, जुम्रीसम्म विक्रिका लागि लैजानु परेको छ ।’ कृषि एम्वुलेन्सवाट आफूले सेवा पाउँन नसकेको उहाँको गुनासो छ । ‘कृषकका उत्पादन विक्रिका लागि कृषि एम्वुलेन्स समेत संचालन भएको सुनेको छु । तर हामीले देख्न समेत पाएका छैनौं,’ उहाँले भन्नुभयो ।

कृषकका उत्पादनलाई बजारीकरण गर्न सहयोग गर्ने उद्येश्यले प्रदेश सरकारको सहयोगमा प्यूठान नगरपालिका क्षेत्रमा ३ वटा कृषि एम्वुलेन्स संचालनमा छन् । तर जिल्लामा सञ्चालनमा रहेका कृषि एम्वुलेन्सबाट आफूहरुले लाभ लिन नसकेको कतिपय कृषकको गुनासो छ ।

लकडाउनका कारण कृषकले उत्पादन गरेका उब्जनी खेर जाने गरेको कृषक बसन्ता केसीले बताउनुभयो । ‘गाडी नचल्दा बारीमै तरकारी कुहिए,’ उहाँले भन्नुभयो, ‘अहिले बोकेरै व्यापारीकहाँ लैजाने गरेको छु ।’

कृषकका उत्पादनलाई वजारीकरणका लागि सक्दो प्रयास भईरहेको कृषि एम्वुलेन्स संचालन व्यवस्थापन संयोजक गिरिराज पौडेलले बताउनुभयो । ‘जानकारि पाए सम्म गाडी पठाउने गरेका छौं,’ पौडेलले भन्नुभयो, ‘कतिपय कृषहरु सम्पर्कमा नआउँदा लाभलिन छुट्नु भएको हुनसक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!