> Banner > बहुमतका आधारमा ऐरावतीको विशेष गाउँसभा सम्पन्न


बहुमतका आधारमा ऐरावतीको विशेष गाउँसभा सम्पन्न

प्यूठान, २६ भदौं । विवादका कारण साउन ४ गतेदेखि स्थगित ऐरावती गाउँपालिका प्यूठानको विशेष गाउँसभा आज बहुमतका आधारमा सम्पन्न भएको छ । बहुमतका आधारमा गाउँसभा सम्पन्न गरिएको पालिका अध्यक्ष नविल विक्रम शाहले बताउनुभयो ।

पालिका अध्यक्ष सहित नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाका २१ जना जनप्रतिनिधि र उपाध्यक्ष सहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १३ जना जनप्रतिनिधिहरु वीच विवाद उत्पन्न हुँदा बहुमत जनप्रतिनिधिहरुको उपस्थितिमा पालिकाले गाउँसभा सम्पन्न गरेको हो ।

चालु आ.व. २०७७/०७८ को बजेट संशोधन, कर्मचारी व्यवस्थापन र न्यायिक समिति सदस्य हेरफेरका विषयमा विवाद रहेको थियो ।

बहुमतका आधारमा सम्पन्न गाउँसभाले कोरोना भाईरस संक्रमणका कारण संचालन गर्न नसकिने योजनाहरुलाई संशोधन गरी श्रममुलक योजनामा रकमान्तरण गर्ने, न्यायिक समितिका सदस्यहरु हेरफेर गर्ने र कर्मचारी संगठनात्मक संरचना पारिद गरि खालि रहेको र गाउँपालिकाकालाई आवश्यक कर्मचारी करारमा नियुक्त गर्ने निर्णय सहित गाउँसभा सम्पन्न भएको अध्यक्ष शाहले प्यूठान समाचार डट कमसँगको कुराकानीमा बताउनुभयो ।

सभाले न्यायिक समितिका सदस्य अर्जुन पन्थी र कृष्ण राउतलाई हटाएर तारा सार्की र भरत खड्कालाई नियुक्त गरेको छ ।

नियम विपरित भयो : उपाध्यक्ष

गाउँपालिका अध्यक्षले विधि सम्वध ढङ्गले गाउँसभा संचालन नगरेको पालिका उपाध्यक्ष बुद्ध बस्नेतले बताउनुभयो । बहुमतको कुरा लिएर कानुन मिचेर पालिका अघि बढेको उहाँले उल्लेख गर्नुभयो । कार्यपालिकाले गाउँसभाका एजेण्डा तयार गर्नुपर्ने विधि पुरा नगरी एकलौटी रुपमा विशेष गाउँसभा बोलाईएकोले सभा पुर्व नै प्रमुख प्रशासकीय अधिकृत समक्ष स्थगितको ध्यानाकर्षण गराए पनि बहुमतको वलमा सभा संचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

गाउँसभाका सदस्यहरुले नारावाजी सहित रोष्टम घेराउ गर्दा सभा स्थिगतको मौखित सूचना दिईएको थियो । प्रदेश सरकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालयको परिपत्र विपरित कर्मचारी भर्ना गर्ने, संविधान विपरित न्यायिक समिति पुर्नः गठन जस्ता एजेण्डाहरु विधि र कानुन सम्वत् नरहेको उपाध्यक्ष बस्नेतको जिकिर छ ।

‘संविधानको दफा २१७ मा न्यायिक समिति गठन सम्वन्धी व्यवस्था भएको र त्यो पुर्नः गठन गर्ने प्रावधान कहिकतै छैन ।’ ,प्यूठान समाचार डट कमसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘एक पटक गठन भएको न्यायिक समिति गाउँसभा रहँदासम्म यथावत रहन्छ ।’

गाउँसभा सम्पन्न भएको बारे आफुहरुलाई थाहा नभएको र पालिकाको सभाहलमा आज शुरु भएको गाउँसभा स्थगित भन्ने सुनेको उहाँको भनाई छ ।

साउन ४ गते स्थिगित विशेष गाउँसभा साउन ३२ गते जारी विशेष गाउँसभा बैठक सम्वन्धी सूचनामा उल्लेख भएका प्रस्ताव उपर छलफल गर्न साउन २२ गते सूचना टाँस गरी आजको सभा बोलाईएको थियो ।

फोटो सामाजिक सञ्जालबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *