प्यूठान । आगामी केही दिन लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा, चट्याङ, मेघगर्जन, हावाहुरी, बाढीपहिरो, डुबान तथा नदी कटानको सम्भावना रहेको भन्दै प्यूठान अस्पतालले विपद् प्रतिकार्यका लागि `र्यापिट रेस्पोन्स टिम´ (आरआरटी) गठन गरेको छ ।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाबाट प्राप्त सूचनाका आधारमा २०८३ असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षाजन्य विपद्का घटना हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अस्पतालले यस्तो टिम गठन गरेको हो ।
अस्पतालका अनुसार सम्भावित विपद्का कारण नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने तथा स्वास्थ्य संस्थामा सेवा प्रवाह प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राखी आवश्यक सतर्कता, पूर्वतयारी, समन्वय तथा प्रतिकार्य व्यवस्थालाई प्रभावकारी बनाउन समिति गठन गरिएको अस्पतालले जनाएको छ ।
प्यूठान अस्पतालमा कार्यरत कर्मचारीहरूको सहभागितामा गठन गरिएको समितिको संयोजकमा मेडिकल अधिकृत डा. पिन्टु यादव रहेका रहनुभएको छ । समितिको सदस्यमा नर्सिङ अधिकृत राधा देवी के.सी., ल्याब टेक्निसियन संगम कक्षपती, हेल्थ असिस्टेन्ट अनोज श्रेष्ठ, वरिष्ठ प्रशासन सहायक रञ्जित बस्नेत तथा मेडिकल रेकर्डर सुपरभाइजर अनिल सापकोटा रहनुभएको छ ।
अस्पतालले कुनै पनि विपद् वा आपत्कालीन अवस्था उत्पन्न भएमा तत्काल आरआरटी टोली तथा सम्बन्धित जिम्मेवार निकायलाई जानकारी गराउन आग्रह गरेको छ । साथै उद्धार, राहत तथा प्रतिकार्यका क्रममा आवश्यक सहयोग पुर्याउन अस्पताल प्रशासनले सबै सरोकारवालासँग अनुरोध गरेको छ ।
अस्पतालले सम्भावित विपद्का समयमा स्वास्थ्य सेवा निरन्तर र प्रभावकारी बनाउन जनशक्ति, समन्वय तथा प्रतिकार्य व्यवस्थालाई तयारी अवस्थामा राखिएको जनाएको छ ।





