समाज

स्वास्थ्य संस्था र एम्बुलेन्स तयारी अवस्थामा राख्न पालिकाहरुलाई निर्देशन 

प्यूठान । जल तथा मौसम विज्ञान विभाग तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेपछि प्यूठानमा स्वास्थ्य संस्थालाई उच्च सतर्कता अपनाउन निर्देशन गरिएको छ ।

स्वास्थ्य कार्यालय प्यूठानले बुधबार जारी गरेको परिपत्र मार्फत जिल्लाका सबै स्थानीय तह अन्तर्गत रहेका आधारभूत अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी लगायतका स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति तथा औषधि–सामग्री तयारी अवस्थामा राख्न आग्रह गरेको हो ।

भारी वर्षाका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट दुर्घटना, चोटपटक र जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्ने भएकाले स्वास्थ्य सेवा तयारी अवस्थामा राख्न भनिएको कार्यालय प्रमुख नरेश बाबु श्रेष्ठले जानकारी दिनुभयो ।

आकस्मिक स्वास्थ्य सेवा सुनिश्चित गर्दै रेफरल सेवालाई सहज र प्रभावकारी बनाउन स्वास्थ्य संस्थालाई आवश्यक तयारी गर्न आग्रह गरिएको छ ।

त्यस्तै, पालिकाका स्वास्थ्य शाखा प्रमुख तथा सम्बन्धित स्वास्थ्यकर्मीलाई एम्बुलेन्स तयारी अवस्थामा राखी सेवा सहज र प्रभावकारी बनाउन निर्देशन दिइएको छ ।

Related Articles

Back to top button