प्यूठान । प्यूठान नगरपालिकाले विद्यालय, विद्यार्थी र शिक्षकहरुलाई सम्मान गरेको छ । शैक्षिक सत्र २०८१ र २०८२ मा उत्कृष्ट नतिजा हाँसिल गर्नेहरुलाई सम्मान गरेको हो ।
कक्षा ५, ८, १०, १२ मा उत्कृष्ट हाँसिल गर्ने विद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मान गरेको छ । प्राबिधिक धार र सबै संकायमा पालिका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गरेको हो । दुवै शैक्षिक सत्रमा उत्कृष्ट नतिजा हाँसिल गर्ने विद्यालयलाई सम्मान गरिएको छ ।
यस्तै नगरपालिकाले वार्षिक परीक्षामा सत प्रतिसत नतिजा ल्याउने बिषय शिक्षकहरुलाई पनि सम्मान गरेको छ । कक्षा ८ र १० मा बिज्ञान र गणित विषयमा ९० प्रतिसत र अन्य बिषयमा सतप्रतिसत नतिजा ल्याउन सफल विषय शिक्षकहरुलाई सम्मान गरेको हो ।
नगर क्षेत्र भित्रका उत्कृष्ट कार्यसम्पादन गर्ने विद्यालयका प्रधानाध्यापकहरुलाई सम्मान गरिएको छ ।
शिक्षाको बिकासले मात्र समग्र समाजको सकारात्मक बिकास हुने भएकाले शिक्षक र विद्यार्थीहरुको प्रोत्साहनका लागि सम्मान तथा पुरस्कार कार्यक्रम गरिएको नगरपालिकाका उपप्रमुख देबेन्द्र बर्माले बताउनुभयो ।
शिक्षक, विद्यार्थी, विद्यालय र प्रधानाध्यापक गरि ३ सय ४४ जनालाई आइतबार एक कार्यक्रमका बीच सम्मान गरिएको हो । प्रोत्साहन तथा क्षमता बिकासका कार्यक्रमलाई निरन्तरता दिने प्यूठान नगरपालिकाले जनाएको छ ।






