समाज

आज श्रावण शुक्ल पञ्चमी : घर–घरमा नागको पूजाआजा

प्यूठान । श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना गरी नागपञ्चमी पर्व मनाइँदैछ । यस दिन घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर पूजाआजा गर्ने परम्परा छ ।

यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमास अनुसार भदौको पहिलो दिन यो पर्व परेको हो । घरको ढोकामा नागको तस्वीर टाँस्दा वर्षभरि नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने र अग्नि, मेघ एवं चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।
नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको मानिन्छ । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीको सन्तुलन मिलाउन र नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा।डा। देवमणि भट्टराईले जानकारी दिए ।

नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रूपमा पूजिन्छ । यस्तै, प्रथम पूजाको अधिकार पाएका भगवान् गणेशको हातमा नाग रहेको छ भने रामका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागकै अवतार मानिन्छ । भगवान् बुद्धको मूर्तिको शिरमा र जैन तीर्थङ्करको शिरमा समेत सर्पाकार मुकुट रहने गरेको छ ।

Related Articles

Back to top button