प्यूठान । स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज राना मगरको सडक दुर्घटनामा ज्यान गएको खबरले नगरवासीसँगै प्यूठानीलाई दुखी बनाएको छ । त्यो भन्दा अझै पीडा अल्पायुमै उपप्रमुख राना सहित तीन दाजुभाईको वियोगान्त अन्त्यले अझै पीडावोध गराएको छ ।
राना परिवारका जेठो सन्तान ५१ वर्षीया मीनराजको शनिवार साँझ भएको सवारी दुर्घटनामा ज्यान गयो । यसअघि उनले आफ्ना दुई भाईलाई अल्यायुमै गुमाएका थिए । साइला भाई भीम रानाको ३८ वर्षको उमेर २०७५ असोजमा हृदयघातबाट निधन भएको थियो । २०७७ चैतमा माइला भाई योगेश रानाको ४१ वर्षका उमेरमा जन्डिसको कारण निधन भएको थियो ।
राजनीतिमा लागेका तीन भाइको सात वर्षको बीचमा एकपछि अर्को गर्दै अल्पआयुमै निधन भएपछि राना परिवार र सिंगो नगरपालिका शोकमा डुबेको छ । तीनै दाजुभाइ मेहनती, मिलनसार एवं समाजसेवा र राजनीतिमा सधै रुचि राख्थे । राजनीतिसँगै माइला भाई योगेशले भिंग्री जलुकेमा हिमालय होटल संचालन गर्नुहुन्थ्यो ।





