प्यार अलि खान
प्यूठान । सरुमारनी गाउँपालिका–२ बगालेमा हाट बजार संचालनमा ल्याइएको छ । एक कार्यक्रमका वीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हाट बजारको उद्घाटन गर्नुभयो ।
हाट बजारलाई स्थानीय किसानका उत्पादनको भरपर्दो बजारका रूपमा विकास गर्न मुख्यमन्त्री आचार्यले आग्रह गर्नुभयो । आयातित कृषि उपज भन्दा स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उहाँले किसाका उत्पादनले उचित मूल्य पाए मात्र कृषि व्यवसाय दिगो बन्ने र त्यसले स्थानीय अर्थतन्त्रलाई समेत मजबुत बनाउने उल्लेख गर्नुभयो । मुख्यमन्त्री आचार्यले बगालेको हाट बजार दाङ, अर्घाखाँची, रोल्पा र गुल्मीसम्मका उपभोक्तालाई जोड्ने सम्भावना रहेको उल्लेख गर्दै यसलाई स्थानीय उत्पादनको व्यापारिक केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले स्थानीय उत्पादनको बजारीकरणलाई व्यवस्थित बनाउन कोसेली घर, संकलन केन्द्र र हाट बजार सञ्चालनमा ल्याइएको बताउनुभयो । सामाजिक उद्यमी सहकारी संस्था माफर्त यसको संचालन तथा व्यवस्थापन हुने उहाँको भनाई छ ।
लुम्बिनी प्रदेश सभा सदस्य तुल्सीराम शर्माले कृषि उत्पादन वृद्धिका लागि सिँचाइ पूर्वाधार विस्तार अपरिहार्य रहेको धारणा राख्नुभयो । संविधानसभा सदस्य धनबहादुर रायमाझीले किसानले आफ्ना उत्पादनको मूल्य आफैं निर्धारण गर्दै प्रत्यक्ष उपभोक्तासम्म पुग्न सक्ने व्यवस्था हाट बजार संचालनबाट हुने विश्वास व्यक्त गर्नुभयो । हेफर इन्टरनेश्नल नेपालका वरिष्ठ कार्यक्रम प्रबन्धक प्रकाश केसीले हाट बजारले किसानलाई बजारसँग जोड्ने प्रभावकारी माध्यम हुने अपेक्षा राख्नुभयो ।
हरेक शनिबार सञ्चालन हुने हाट बजारबाट स्थानीय किसानले आफ्ना उत्पादन प्रत्यक्ष बिक्री गर्ने अवसर पाउने अपेक्षा गरिएको छ ।गाउँपालिका उपाध्यक्ष वसन्ता खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वेदराज पाण्डेले गर्नुभएको थियो ।






