प्युठान । जिल्ला सदरमुकाम खलंगामा ‘अम्ब्रेला स्ट्रीट’ निर्माण गरिएको छ । खलंगाको पाटी चोकदेखी जिल्ला प्रहरी कार्यालयसम्म रंगिन छाता, गमला सहितको ‘अम्ब्रेला स्ट्रीट’ निर्माण गरिएको हो ।
अन्तर खलंगा आवासीय समाज प्युठानको आयोजनामा मल्लरानी गाउँपालिका तथा ४ न. वडा कार्यालयको समन्वयमा र खलंगा सरोकार समाजको सहकार्यमा “पर्यटकीय रोजाइमा रंगिन सदरमुकाम खलंगा प्युठान ” भन्ने नारा सहित ‘अम्ब्रेला स्ट्रीट’ निर्माण गरिएको हो ।
दशै, तिहार र छठ पर्बको उपलक्ष्यमा सदरमुकामको पर्यटन प्रवर्द्धन गर्न यो अभियान शुरु गरिएको अभियन्ता इमानसिंह भारतीले बताउनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य सुर्य थापाले खलंगाको पर्यटन प्रवर्द्धनका लागि यो शुरूवात मात्र भएको भन्दै यसलाई अरु पर्यटकीय गतिविधिसंग जोड्न आग्रह गर्नुभयो ।
पर्यटकीय गन्तब्य बन्दीपुर जस्तै प्युठान सदरमुकाम खलंगालाई बिकास गर्न सकिने उहाँको भनाई छ । स्थानीयले थालेको यो अभियानलाई ब्यापक बनाउन वडा, गाउँपालिकाले बृहत छलफल गरेर काम गर्नुपर्ने प्रमुख अतिथि थापाको सुझाव छ ।
कार्यक्रममा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले सुनसान बन्दै गएको सदरमुकामलाई पर्यटन मार्फत बिकास गर्न पालिकाले ध्यान दिएको बताउनुभयो । उहाँले पर्यटकीय स्थल मल्लरानी, झाकृस्थान लगायत क्षेत्रसंग सदरमुकामलाई जोडेर बिकास गर्ने योजना रहेको बताउनुभयो ।
‘अम्ब्रेला स्ट्रीट’ निर्माण भएपछि सेल्फी र टिकटक बनाउनेको घुइँचो हुन थालेको छ ।
