स्थानीय सरकार

सडक योजनामा थोरै बजेट विनियोजन भएको भन्दै गाउँसभा बहिष्कार

प्यार अलि खान
प्यूठान । गौमुखी गाउँपालिकाको वडा नं. ४ पुँजाबाट बाग्लिवाङ्ग हुँदै झाँक्रिढुङ्गा जाने सडकका लागि प्रयाप्त बजेट विनियोजन नभएको भन्दै यहाँका वडाध्यक्ष, गाउँपालिका सदस्य र गाउँसभा सदस्यहरुले गाउँसभा अधिवेशनको दोश्रो बैठक बहिष्कार गरेका छन् ।

वडा नं. ४ का वडाध्यक्ष धनिराम सुनार, कार्यपालिका सदस्य बमबहादुर सुनार, गाउँसभा सदस्य भरत केसी, सावित्री टमाटा र तुलबहादुर सुनारले अधिवेशन बहिष्कार गरेका हुन् । गाउँपालिकाको आ.व. २०८३/०८४ को प्रस्तावित बजेट माथि कार्यपालिका बैठकमा छलफल भैरहेको समयमा प्रयाप्त बजेट विनियोजन नभएको भन्दै उनीहरुले बहिष्कार गरेका हुन् ।

कार्यपालिका बैठकमा उक्त सडकका लागि १५ लाख रुपैंया विनियोजन गरिएको थियो । वर्षाैदेखिको अधुरो सडक पूर्णता गराउन गाउँपालिका र प्रदेश सरकार समक्ष अनुरोध गरे पनि सम्बोधन नभएकोले बैठक बहिष्कार गर्नुपर्ने बाध्यता परेको वडाध्यक्ष सुनारले बताउनुभयो । करिव ५० लाख बजेट विनियोजन भएमा सडक पुरा हुने उहाँले अपेक्षा व्यक्त गर्नुभयो । सडक अधुरो हुँदा झाँक्रिढुङ्गा जानको लागि स्थानीयवासीहरू बाग्लिबाङ–डाँडाकटेरी–ठूलाबेसी–अग्लुङफेदी– रजवारा घुमाउरो तथा लामो दूरीको बाटो प्रयोग गर्न बाध्य भएको वडाध्यक्ष सुनारको भनाई छ ।

वडाको भुगोल र जनसंख्याका आधारमा बजेटको वडा सिलिङ्ग कार्यपालिकाबाट निर्णय गरी तोकिएको उपाध्यक्ष महावीर रानाले बताउनुभयो । त्यस बाहेक संघीय र प्रदेश सरकारबाट सम्बोधन नभएका र अति आवश्यक वडा नं. ३ रजवारा र वडा नं. ४ पुजाका लागि १५÷१५ लाख र वडा नं. ६ लिवाङका लागि गाउँपालिकाबाट १० लाख रुपैंया बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

Related Articles

Back to top button