प्यूठान । गणतन्त्र दिवस तथा सगरमाथा दिवसको अवसर पारेर प्यूठानको पर्यटकीय क्षेत्र बुकीडाँडामा पर्यटन प्रवद्र्धन विशेष कार्यक्रम गरिएको छ । मल्लरानी गाउँपालिका ३ नं. वडा कार्यालयको आयोजना कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले १ हजार ८१० मिटरको उचाईमा रहेको बुकीडाँडाबाट गाउँपालिका भित्रका सबै क्षेत्र र जिल्लाका अधिकांस क्षेत्र सहित मनमोहक दृष्यावलोकन गर्न सकिने उल्लेख गर्नुभयो । सदरमुकाम खलंगाबाट ६ किलोमिटर कालोपत्र सडक यात्रा पछि यहाँ पुग्न सकिने भन्दै उहाँले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पुर्वाधार निर्माणमा विशेष जोड दिइएको बताउनुभयो । ‘देशका १६५ निर्वाचन रणनैतिक सडक अन्तरगतको प्यूठान र अर्घाखाँची जिल्ला जोड्ने राष्ट्रिय महत्वको सडक यहि क्षेत्रमा पर्दछ ।’ ,उहाँले भन्नुभयो, ‘फुर्सदको समयमा घुम्न आउनेहरुको संख्या पनि बढ्दै गएको छ ।’
गाउँपालिका, लुम्बिनी प्रदेश सरकार, डिभिजन वन कार्यालय प्यूठान लगायत नीजी र सामाजिक क्षेत्रबाट यहाँ विभिन्न संरचनाहरु निर्माण गरिएको छ । तारबार गरिएको क्षेत्र भित्र बृक्षारोपण गरि चरिचरणमा रोक लगाइएको छ । टापुमा राखिएको राष्ट्रिय झण्डाले आकर्षण थपेको छ । सिढि निर्माण, शौचालय, खानेपानीको सुबिधा पुर्याइएको मल्लरानी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष नोमराज पौडेलले बताउनुभयो ।
चरिचरणका कारण नाङ्गो डाँडाको रुपमा रहेको यस क्षेत्रलाई स्थानीयको सक्रियतामा संरक्षण गर्न थालिएपछि पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको स्थानीय नारायण पुनले बताउनुभयो । अझ गर्मीको यो समयमा सितलतासँगै प्राकृतिक सौन्दर्यताले यहाँ पुग्ने हर कोहिको मनलोभ्याउने उहाँ बताउनुहुन्छ ।
बुकीडाँडा नजिकै जनजाति बहुल्यता रहेको बुकेनी गाउँमा होम स्टे संचालन गर्ने योजना रहेको गाउँपालिकाका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले बताउनुभयो । ‘बुकेनीमा मगर गाउँ र नजिकैको टोप्रे गाउँमा गुरुङ्ग समुदायको बाहुल्याता रहेको छ ।’ ,उहाँले भन्नुभयो, ‘मल्लरानी र बुकीडाँडाको पर्यटन विकाससँगै स्थानीयको आयआर्जनलाई जोड्न होम स्टे संचालन गर्ने तयारीमा छौं ।’ यसले यहाँको कला संस्कृति, पहिचान, स्थानीय उत्पादनसँगै स्थानीयको आम्दानीको श्रोत समेत बन्ने उहाँको भनाई छ ।
बुकीडाँडा सदरमुकाम खलंगाबाट ६ किलोमीटरको पक्की सडकको यात्रा पछि पुग्न सकिन्छ ।






