प्यूठान । बैशाख २ गते विजुवारबाट दाङवाङ जाँदै गरेको सवारी जीप ऐरावती गाउँपालिका–२ देउरालीमा दुर्घटना हुँदा एक बृद्धको ज्यान गयो । विजुवार स्थित अस्पतालबाट थप उपचारका लागि रिफर गरिएका बृद्धको जिल्ला बाहिर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
जिल्लामा दिनहुँ जसो सडक दुर्घटनाका घटना भैरहेका छन् । सवारी चाप, साघुँरो बाटो, सावरी साधनको अवस्था, क्षमता भन्दा धेरै यात्रु राख्ने लगायतका कारणले दुर्घटना बढाइ रहेको छ । चालु आर्थिक वर्षको चैत्र मसान्तसम्मको ९ महिनाको अवधिमा १६ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका अनुसार ११ जना पुरुष, १ जना महिला, ३ जना बालक र १ जना बालिकाको दुर्घटनामा मृत्यु भएका हो ।
साउन महिना यता भएको ९० वटा दुर्घटनामा १६३ जना घाइते भएका छन् । ट्राफिक प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव निरिक्षक शम्भु धितालका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ९४ वटा दुर्घटनाका घटना भएका छन् । जसमा ७ पुरुष, १ बालक र १ बालिका गरी ९ जनाले ज्यान गुमाएका छन् । ११७ जना घाइते भएका छन् ।
आर्थिक वर्ष २०८०/८१ मा भएका २८ वटा सडक दुर्घटनामा १२ पुरुष, २ महिला र १ बालिका गरी १५ जनाले ज्यान गुमाएका छन् । जसमा ४० जना घाईते भएका छन् ।
ट्राफिक चेकजाँचमा कडाई
दुर्घटनाका संख्या बढ्दै जाँदा जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानले सवारी चेक जाँचलाई कडाई गर्न थालेको छ । शुक्रबार इलाका प्रहरी कार्यालय विजुवारका प्रहरी निरीक्षक मिलन पाण्डेय नेतृत्वको टोलीले सवारीको अधिक चाप हुने विजुवार, बाग्दुला बजार क्षेत्रमा चेक जाँच गरेको हो । दुर्घटना न्यूनिकरणका लागि यात्रु तथा चालकलाई सचेत गराइएको अस्थायी ट्राफिक प्रहरी पोष्ट विजुवारका सहायक प्रहरी हवल्दार लछुमन गिरीले बताउनुभयो ।
राजस्व संकलन
जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका अनुसार चालु आर्थिक वर्षमा ३० लाख ६९ हजार रुपैंया राजस्व संकलन भएको छ । २ हजार ६२८ कारवाहीबाट उक्त राजस्व संकलन भएको हो । आर्थिक वर्ष २०८१/८२ मा ४ हजार ४४९ कारवाहीबाट ५२ लाख ४१ हजार रुपैंया राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/८१ मा १० हजार ५९४ कारवाहीबाट ६३ लाख ७ हजार ५०० रुपैंया राजस्व संकलन भएको छ ।
